हामी पहिलो हाफ वेगमा खेल्छौं, दोस्रो हाफमा थाक्छौं : कोम्यान

एजेन्सी, पुस २०
स्पेनिस फुटबल क्लब बार्सिलोनाका प्रमुख प्रशिक्षक रोनाल्ड कोम्यानले आफ्ना खेलाडीको प्रदर्शन एकनाशको हुन नसक्दा कठिनाइ बढेको स्वीकारेका छन् । गत राति नयाँ वर्ष २०२१ को पहिलो खेलमा बार्सिलोनाले लिगको २०औं स्थानको हुएस्कासँग अवे मैदानमा ०–१ को साँघुरो जित निकाल्यो । बार्सिलोनालाई जिताउन डच मिडफिल्डर फ्रेन्की डे जोङले २७औं मिनेटमा गरेको १ मात्रै गोल निर्णायक बन्यो ।

अवे मैदानमा बार्सिलोनाले समग्रमा खेल नियन्त्रणमा राखेर खेले पनि १ भन्दा बढी गोल निकाल्न सकेन । पहिलो हाफमा बार्सिलोनाले उच्च स्तरको प्रदर्शन गरेको थियो । तर, दोस्रो हाफमा बार्सिलोनाको प्रदर्शन एकाएक खस्कियो । उसले खेलभरि ७९४ सफल पास खेल्दै २० पटक आक्रमण बुन्दा ७ पटक सही दिशामा हानेको थियो । तर, उसले लिगको सबैभन्दा पुछारमा रहेको टोलीविरुद्ध दोस्रो गोल निकाल्न सकेन ।

खेलपछि प्रशिक्षक कोम्यानले नतिजाका हिसाबले सुखद् रहे पनि खेलका हिसाबले बार्सिलोनाले निकै कमजोर खेलेको बताए । उनले पहिलो हाफ र दोस्रो हाफमा खेलाडीले फरक–फरक खेल खेलेको बताए । ‘हामीले जित्न सक्ने खेल जित्यौं । र, ३ अंक लियौं, यो हाम्रा लागि सुखद् नतिजा हो,’ कोम्यानले भने, ‘तर, खेलका हिसाबले आज पनि हामीले राम्रो खेल्न सकेनौं । यो फितलो खेल रह्यो । हामी यो स्तरको खेलबाट खुसी हुन सक्दैनौं । किनभने, हामी उपाधि जित्न चाहन्छौं भने यस्तो प्रदर्शनले पुग्दैन ।’

आफ्ना खेलाडीले एक खेलमै दुईखाले खेल खेल्ने भन्दै कोम्यानले त्यसले टिमको नतिजामा फरक पारिरहेको बताए । ‘सधैंझै आज पनि खेलाडीले पहिलो हाफमा एउटा वेगमा खेले । तर, दोस्रो हाफमा खेलाडी थकित देखिए । हामीले थुप्रै अवसर बनायौं तर गोल भएन । आज मात्रै हैन, अक्सर यस्तो हुँदै आएको छ । यस्तो प्रदर्शनले खेल जुनसुकै बेला आफ्नो हातबाट उम्किन सक्छ । यो निकै गम्भीर कुरा हो,’ कोम्यानले भने ।

गत रातिको जितपछि बार्सिलोनाले लिगका १६ खेलबाट २८ अंक जोडेर पाँचौं स्थानमा चढेको छ । ऊ अझै एक खेल कम खेलेको लिग लिडर एथ्लेटिको मड्रिडभन्दा १० र दोस्रो स्थानको रियल मड्रिडभन्दा ८ अंकले पछि छ ।

प्रकाशित मिति २० पुष २०७७, सोमबार ११:५०
Loading...