१० खेलाडीमा सीमित एसी मिलानको सहज जित : शीर्ष स्थानमा फर्कियो

काठमाडौं, पुस १९
जारी सिजन इटालियन सिरी ए लिग फुटबलको उपाधि होडमा रहेको एसी मिलानले नयाँ वर्ष २०२१ को पहिलो खेलमा १० खेलाडीमा सीमित भएर पनि सहज जित निकालेको छ । आइतबार राति भएको लिगको १५औं साताको खेलमा मिलानले १०औं स्थानको बेनेभेन्टोलाई उसकै घरेलु मैदानमा ०–२ ले हरायो ।

पाहुना टोली मिलान खेलको ३३औं मिनेटमै १० खेलाडीमा सीमित भएको थियो । मिडफल्डर सान्ड्रो टोनाली सोझै रातो कार्ड पाएर मैदान छाडेका थिए । १० खेलाडीमा झर्नुअघि नै मिलानले १५औं मिनेटमा पेनाल्टी गोलमार्फत् अग्रता लिएको थियो । सो गोल फ्रान्क केसेईले गरेका थिए ।

त्यसपछि मिलानका लागि दोस्रो हाफ सुरु भएको ४ मिनेटमै राफाएल लियाओले गोल गरेपछि मिलानले घरेलु टोलीविरुद्ध ०–२ को सहज अग्रता बनाएको थियो । त्यसपछि बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन सकेन । र, खेल मिलानले ०–२ ले जित्यो ।

अब यो जितपछि १५ खेलबाट ३७ अंक बनाएर मिलान पुनः लिगको शीर्ष स्थानमै फर्किएको छ । यसघि आफ्नो खेल जितेर इन्टर मिलान शीर्ष स्थानमा चढेको थियो । हाल दुई मिलानको बीचमा मात्रै १ अंकको अन्तर छ । यता, पराजित बेनेभेन्टो १८ अंकसहित १०औं स्थानमा छ ।

प्रकाशित मिति २० पुष २०७७, सोमबार ०१:०६
Loading...