नयाँ वर्षको पहिलो खेलमा इन्टर मिलानको आधा दर्जन गोल : मार्टिनेजले हाने ह्याट्रिक

काठमाडौं, पुस १९
नयाँ वर्ष २०२१ को पहिलो खेलमा इटालियन क्लब इन्टर मिलानले घरेलु सिरी ए लिगको खेलमा आधा दर्जन गोलको वर्षा गरेको छ । आज आइतबार भएको खेलमा दोस्रो स्थानको मिलानले रेलिगेसन जोन १९औं स्थानको क्रोटोनेलाई ६–२ को रवाफपूर्ण हारको सिकार बनायो ।

घरेलु मैदानमा मिलानलाई शानदार जित दिलाउन अर्जेन्टिनी युवा स्टार लौटारो मार्टिनेज नायक बने । उनले वर्षको पहिलो खेलमै शानदार ह्याट्रिक गरे । पहिला उनका नाममा दिइएको १ गोल पछि आत्मघाती करार दिएपछि उनका नाममा ३ गोल मात्रै भयो । तर, उनले आजको खेलमा ३ गोल आफ्नो नाममा लेखाउँदै १ गोलमा भूमिका पनि खेलेका थिए ।

मिलानको घरमा पाहुना टोलीले उत्कृष्ट सुरुआत गर्दै खेलको १२औं मिनेटमै अग्रता लिएको थियो । सो गोल निकोलो जानेलाटोले गरेका थिए । क्रोटोनेले सुरुआती १५ मिनेटमा ४ पटक गोलका अवसर बनाए पनि उसले १२औं मिनेटको अवसर मात्रै सदुपयोग गर्न सफल भयो ।

त्यसपछि खेलको २०औं मिनेटमा मिलानका लागि लौटारो मार्टिनेजले गोल गरेर खेल १–१ को बराबरी बनाए । त्यसपछि ३१औं मिनेटमा क्रोटोनेका लुका मार्रोनेले आत्मघाती गोल गरेपछि मिलानले खेलमा अग्रता बनायो । लगत्तै ३६औं मिनेटमा क्रोटोनेले पेनाल्टी पायो, जसमा भ्लादिमिर गोलेमिचले गोल गरेपछि पहिलो हाफमा २–२ मा सकियो ।

दोस्रो हाफमा मिलानले खेलमा पूर्ण पकड जमाउँदै ४ गोल थप्यो, जहाँ मार्टिनेजले ह्याट्रिक समेत पूरा गरे । मार्टिनेजले खेलको ५७औं मिनेटमा गोल गरेर टिमलाई अग्रता दिएका थिए । लगत्तै ६४औं मिनेटमा रोमेलु लुकाकुले गोल गरेपछि मिलान ४–२ को स्थितिमा पुग्यो । त्यसपछि ७८औं मिनेटमा मार्टिनेजले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक गरे । मिलान त्यत्तिमै रोकिएन । खेलको ८७औं मिनेटमा अचरफ हाकिमीले अर्को गोल थपेपछि खेल मिलालने ६–२ ले जित्यो ।

आजको खेलमा ह्याट्रिक गरेसँगै मार्टिनेजले यो सिजन लिगमा गरेको कूल गोल ९ पुगेको छ । उनले नयाँ वर्षको पहिलो खेलमै उत्कृष्ट प्रदर्शनका साथ ह्याट्रिक गरेर टिमलाई सघाए । यता, यो जितपछि मिलान लिगको शीर्ष स्थानमा पनि चढेको छ । मिलानले १५ खेलबाट ३६ अंक जोडेको छ । पराजित क्रोटोने मात्रै ९ अंकसहित सबैभन्दा पुछारमा छ ।

हाल इन्टर मिलान लिगको शीर्ष स्थानमा रहे पनि आज रातिका अन्य खेलपछि यो स्थिति बदलिन सक्नेछ । पहिलो स्थानबाट दोस्रो स्थानमा झरेको एसी मिलानले आजै राति आफ्नो १५औं साताको खेल खेल्दै छ । यदि सो खेलमा स्पष्ट जित निकाले एसी मिलान पुनः शीर्ष स्थानमा चढ्नेछ । हाल इन्टर मिलान एसी मिलानभन्दा २ अंकले अघि रहेर सिरानमा छ । यता, लिग लिडर इन्टर मिलानले साबिक विजेता युभेन्टसलाई १२ अंकले पछि पारेको छ । तर, युभेन्टसले २ खेल कम खेलेको छ । युभेन्टसले आफ्नो १४औं खेल आजै राति खेल्दैछ ।

प्रकाशित मिति १९ पुष २०७७, आईतवार १९:१४
Loading...