मेस्सीले आज राति ५००औं कासेढुंगा पूरा गर्दै

काठमाडौं, पुस १९
स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा बार्सिलोनाले आज राति वर्ष २०२१ को पहिलो खेल ला लिगामा खेल्दै छ । ऊ लिगको १६औं राउन्डको खेल खेल्न लिगको सबैभन्दा पुछार २०औं स्थानको टिम हुएस्काको घरेलु मैदानमा उत्रिँदैछ । सो खेल बार्सिलोनाका लागि कप्तान लिओनल मेस्सीका लागि ५००औं ला लिगा खेल हुनेछ ।

यसअघि वर्ष २०२० को अन्तिम खेलमा चोटका कारण टोलीमा नरहेका मेसी आज राति वर्षको पहिलो खेलबाट टोलीमा फर्किंदैछन् । हुएस्काको घरमा उत्रिँदा मेस्सीले आज ला लिगामा ५००औं खेल खेल्नेछन्, जुन उनका लागि महत्त्वपूर्ण तथ्यांक हुनेछ । हालको अवस्थामा लिगको सबैभन्दा कमजोर टिमविरुद्ध खेल्दा मेस्सीका लागि गोल गरेर गोल संख्या बढाउने अवसर पनि छ ।

ला लिगामा हालसम्म ४९९ खेल खेलिसकेका मेस्सीले सो दौरान ४५१ गोल गरेका छन् । १७ वर्षदेखि ला लिगा खेलिरहेका उनी लिगका सर्वाधिक गोलकर्ता, सर्वाधिक असिस्टकर्ता र सर्वाधिक उपाधि विजेता खेलाडी पनि हुन् । यता, मेस्सीले यो सिजन ला लिगामा १४ खेलबाट ७ गोल र १ असिस्ट गरेका छन् । सबैखाले प्रतियोगितामा उनले १८ खेलबाट १० गोल र १ असिस्ट गरेका छन् ।

प्रकाशित मिति १९ पुष २०७७, आईतवार १७:४२
Loading...