नयाँ वर्षको सुरुआत : बुन्डेसलिगामा आज बार्यन र डर्टमुन्डको खेल हुँदै

काठमाडौं, पुस १९
जर्मन लिग बुन्डेसलिगा फुटबलमा आज साबिक विजेता बार्यन म्युनिख र बोरुसिया डर्टमुन्डले नयाँ वर्ष २०२१ अन्ततर्गत पहिलो खेल खेल्दैछन् । बार्यन र डर्टमुन्डले दुवैले लिगको १४औं राउन्डअन्तर्गत आ–आफ्ना खेल खेल्न लागेका हुन् ।

जसमा डर्टमुन्डले उल्भ्सवर्गसँग खेल्नेछ भने बार्यनले मेन्जसँग खेल्नेछ । हाल अंक तालिकामा बार्यन १३ खेलबाट ३० अंक जोडेर दोस्रो स्थानमा छ । गत राति आरबी लेइपगिजले आफ्नो खेल जितेपछि बार्यन दोस्रोमा झरेको हो । लेइपजिगको खातामा ३१ अंक छ । यता, यो सिजन लिगमा कमजोर स्थितिमा रहेको डर्टमुन्ड १३ खेलबाट मात्रै २२ अंक बनाएर छैटौं स्थानमा छ ।

पछिल्लो समय डर्टमुन्ड लिगमा खराब स्थितिबाट गुज्रिरहेको छ । उसले पछिल्ला ५ खेलमा मात्रै १ खेल जित्दा ३ खेल हारेको छ भने १ खेल बराबरी गरेको छ । ५ खेलको १५ अंकबाट डर्टमुन्डले मात्रै ४ अंक जोड्दा ११ अंक गुमाएको छ । तसर्थ आज नयाँ वर्षको पहिलो खेल बलियो टोली उल्भ्सविर्गविरुद्ध खेल्दा डर्टमुन्ड ठूलो दबाबमा हुनेछ ।

आज पहिलो खेल डर्टमुन्ड र उल्भ्सवर्गबीच नेपाली समयअनुसार राति ठीक ८ः१५ बजेबाट सुरु हुनेछ । खेल डर्टमुन्डको मैदानमा हुनेछ । उल्भ्सवर्ग हाल अंक तालिकामा डर्टमुन्डभन्दा अघि छ । उसले १३ खेलबाट २४ अंक बनाएको छ । डर्टमुन्ड उल्भ्सवर्गभन्दा २ अंकले पछि छ ।

आजको दोस्रो तथा १४औं राउन्डको अन्तिम खेलमा बार्यन र मेन्ज आमनेसामने हुनेछन् । यो खेल बार्यनको घरेलु मैदानमा नेपाी समयअनुसार राति ठीक १०ः४५ बजेबाट सुरु हुनेछ । हाल अंक तालिकामा मेन्ज ६ अंकका साथ १७औं स्थानमा रहेको छ । आजको खेल जिते वा बराबरी गरे बार्यन लेइपजिगलाई पछि पारेर शीर्ष स्थानमा चढ्नेछ ।

प्रकाशित मिति १९ पुष २०७७, आईतवार १०:३३
Loading...