प्रिमियर लिग : नयाँ वर्षको पहिलो खेलमा आर्सनलको फराकिलो जित

काठमाडौं, पुस १९
इंग्लिस क्लब आर्सनलले नयाँ वर्ष २०२१ को पहिलो खेलमा फराकिलो जित निकालेको छ । प्रिमियर लिगअन्तर्गत गत राति भएको लिगको १७औं खेलमा आर्सनलले वेस्ट ब्रुमलाई उसकै घरेलु मैदानमा ०–४ को फराकिलो अन्तरले पराजित गरेको हो । यससँगै आर्सनलले नयाँ वर्षको जितका साथ सुरुआत मात्रै गरेको छैन, खराब स्थिति सुधार्दै लिगमा लगातार तेस्रो जित पनि निकालेको छ ।

आर्सनलले यसअघिका दुई खेलमा पनि स्पष्ट जित निकालेको थियो । पछिल्ला ३ खेल जित्नुअघि आर्सनल लिगका ७ खेलसम्म जितविहीन थियो । तर, अब लगातार तीन जितले आर्सनललाई लयमा उभ्याएको छ । र, ऊ रेलिगसेन जोनबाट माथि उठ्दै अघि बढेको छ ।

आर्सनलको जितमा एलेक्सान्ड्रे लाकाजेटले २ गोल गरे । पहिलो गोल खेलको २३औं मिनेटमा कियरान टिर्नेले गरेका थिए । त्यसपछि बुकायो शाकाले गोल गरेपछि आर्सनल पहिलो हाफमा ०–२ अघि रह्यो । त्यसपछि दोस्रो हाफमा पनि आर्सनलले २ गोल थप्यो ।

लाकाजेटले ५ मिनेटको बीचमा २ गोल गरेपछि आर्सनल जिततर्फ अघि बढेको थियो । उनले पहिलो गोल ६०औं मिनेटमा गरे भने दोस्रो गोल ६४औं मिनेटमा गरेपछि खेल आर्सनलले ०–४ ले जित्यो । अब यो जितपछि आर्सनल लिगका १७ खेल सकिँदा २३ अंकका साथ ११औं स्थानमा चढेको छ । पराजित वेस्ट ब्रुम १७ खेलपछि मात्रै ८ अंक बनाएर १९औं स्थानमा छ ।

प्रकाशित मिति १९ पुष २०७७, आईतवार ०८:१६
Loading...