नयाँ वर्षको पहिलो खेलमा रियलको सहज जित : उक्लियो शीर्ष स्थानमा

काठमाडौं, पुस १९
स्पेनिस क्लब रियल मड्रिडले नयाँ वर्ष २०२१ को पहिलो खेलमा सहज जित निकालेको छ । गत राति ला लिगाअन्तर्गत भएको खेलमा रियल मड्रिडले आफ्नो घरेलु मैदानमा पाहुना टोली सेल्टा भिगोमाथि २–० को एकपक्षीय जित निकाल्न सफल भयो । अब यो जितसँगै रियलले नयाँ वर्षको सुखद् सुरुआत मात्रै गरेको छैन, ऊ ताजा स्थितिमा लिगको शीर्ष स्थानमा पनि चढेको छ ।

पछिल्लो समय उत्कृष्ट लयमा फर्किएको रियल पछिल्ला ८ खेलमा अपराजित छ । जसमा उसले ७ खेलमा स्पष्ट जित निकालेको छ भने १ खेलमा बराबरी गरेको छ । यी ८ सबै खेलमा रियलले उत्कृष्ट प्रदर्शन गरेको छ । गत राति उसले सेल्टाविरुद्ध पनि उत्कृष्ट प्रदर्शन पस्किएको थियो ।

सेल्टाविरुद्ध रियलका मार्को एसेन्सियो र लुकास भासक्वेज नायक बने । उनीहरू दुवैले १–१ गोल गरेर एकअर्काको गोलमा असिस्ट समेत गरे । रियलका लागि खेल सुरु भएको छैटौं मिनेटमै भासक्वेजले गोल गरेर अग्रता दिलाएका थिए । एसेन्सियोले माथिल्लो भागबाट दिएको हाई क्रस पासमा पोस्ट नजिकै रहेका भासक्वेजले कठिन पोजिसनबाट उत्कृष्ट हेडिङमार्फत् बललाई जाली चुमाएका थिए ।

त्यसपछि रियललाई दोस्रो गोल गर्न खेलको ५२औं मिनेटसम्म पर्खिनु परेको थियो । यसपटक एसेन्सियोले बक्स भित्रबाट उत्कृष्ट फिनिसिङमा गोल गरे । बक्स बाहिरबाट भासक्वेजले दिएको छोटो पासमा उनले सेल्टाका गोलकिपरलाई बिट गरेर सुन्दर गोल गरेपछि खेलमा रियलले २–० को सहज अग्रता बनायो । त्यसपछि बाँकी समयमा दुवै टोलीबाट थप गोल नभएपछि खेल रियलले जित्यो ।

अब यो जितपछि रियल १७ खेलबाट ३६ अंक जोडेर लिगको शीर्ष स्थानमा चढेको छ । उसले एथ्लेटिको मड्रिडलाई १ अंकले पछि पारेको छ । तर, एथ्लेटिकोले अझै ३ खेल खेल्न बाँकी छ । यदि एथ्लेटिकोले बाँकी ३ वटै खेल जितेको खण्डमा रियल अझै पनि ८ अंकले पछि पर्नेछ । यता, पराजित सेल्टा १७ खेलबाट २३ अंकमा सीमित भएर आठौं स्थानमा छ ।

प्रकाशित मिति १९ पुष २०७७, आईतवार ०७:०८
Loading...