बेटिस पेनाल्टीमा चुक्दा सेभिल्ला हारबाट बच्यो

काठमाडौं, पुस १८
स्पेनिस ला लिगा फुटबलमा शीर्ष चारको होडमा रहेको सेभिल्ला हारबाट बचेको छ । शनिबार राति भएको नयाँ वर्ष २०२१ को पहिलो खेलमा सेभिल्ला र रियल बेटिसले १–१ को बराबरी खेले । घरेलु टोली बेटिसले आफ्नै घरमा दोस्रो हाफमा खेल जिताउने पेनाल्टी मिस गर्दा पाहुना टोली हारबाट बच्यो ।

बेटिसको घरमा पाहुना टोली सेभिल्लाका लागि सुसोले ४८औं मिनेटमा बार च्यापेर हानेको प्रहारमा सुन्दर गोल गरेका थिए । तर, उसको अग्रता धेरैबेर टिकेन । खेलको ५३औं मिनेटमा बेटिसले पेनाल्टी पायो, जसमा सर्जिनो कानलेसले गोल गरेर खेल १–१ बनाए ।

त्यसपछि खेलको ७५औं मिनेटमा घरेलु टोली बेटिसले दोस्रो पेनाल्टी पायो । तर, यसपटक नबिल फेकिरले प्रहार गरेको पेनाल्टी सेभिल्लाका गोलकिपरले रोकेपछि बेटिस निराश बनेको थियो । त्यसपछि बाँकी समयमा दुवै टोलीबाट थप गोल भएन । र, खेल १–१ को बराबरीमा सकियो ।

अब यो बराबरीसँगै सेभिल्लाले १५ खेलबाट २७ अंक बनाएर पाँचौं स्थानमा यथावत रहेको छ । बेटिस भने १७ खेलबाट २० अंक बनाएर नवौं स्थानमा चढेको छ । सेभिल्ला अब समान खेल खेलेको छैटौं स्थानको बार्सिलोनाभन्दा २ अंकले अघि छ ।

प्रकाशित मिति १८ पुष २०७७, शनिबार २२:५८
Loading...