मिसन च्याम्पियन्स लिग : पिएसजीको नयाँ प्रशिक्षकमा पोचेटिनो नियुक्त

एजेन्सी, पुस १८
फ्रेन्च क्लब पिएसजीले अर्जेन्टिनी म्यानेजर माउरिसियो पोचेटिनोलाई आफ्नो नयाँ प्रशिक्षकमा नियुक्त गरेको छ । आज क्लबले अफिसियल रूपमा पोचेटिनोलाई नयाँ प्रशिक्षमा नियुक्त गरेको घोषणा गरेको हो । पोचेटिनो यसअघि इंग्लिस क्लब टोटनह्यामका प्रमुख प्रशिक्षक थिए ।

सिजन महत्त्वपूूर्ण चरणमा प्रवेश गर्न लाग्दा पिएसजीले राम्रो नतिजा निकाल्न नसकेपछि क्लबले थोमस टुचेललाई बर्खास्त गरेको थियो । त्यसको ३ दिनमा क्लबले नयाँ प्रशिक्षकमा ४८ वर्षीय पोचेटिनोलाई ल्याएको हो । उनी गत सिजनमै टोटनह्यामबाट बर्खास्तीमा परेपछि खाली रहँदै आएका थिए ।

पिएसजीले युरोपियन च्याम्पियन्स लिगमा अन्तिम १६ का खेलअघि प्रशिक्षक परिवर्तन गर्नुलाई महत्त्वपूर्ण मानिएको छ । यसपटक पिएसजीले अन्तिम १६ मा स्पेनिस क्लब बार्सिलोना प्रतिस्पर्धी पाएको छ । अन्तिम १६ का खेल सुरु हुन अब एक महिना बाँकी छ ।

यता, पिएसजी हाल फ्रेन्च लिग वानमा १७ खेलबाट ३५ अंक बनाएर तेस्रो स्थानमा रहेको छ । पिएसजी लिग लिडर लियोनभन्दा १ अंकले पछि छ । अब पोचेटिनोको आगमनपछि च्याम्पियन्स लिगमा पिएसजीले राम्रो गर्ने अपेक्षा गरिएको छ । पोचेटिनोले अघिल्लो सिजन टोटनह्यामलाई च्याम्पियन्स लिगको फाइनलसम्म पुराएका थिए । तर, फाइलनमा उनको टिम लिभरपुलसँग पराजित भएको थियो ।

प्रकाशित मिति १८ पुष २०७७, शनिबार २२:१३
Loading...