शानदार सन : पूरा गरे शतक

काठमाडौं, पुस १८
इंग्लिस क्लब टोटनह्यामका दक्षिण कोरियन फरवार्ड सन हेङ मिनले शतक पूरा गरेका छन् । टोटनह्यामका लागि उनले १०० गोलको महत्त्वपूर्ण कोसेढुंगा पूरा गरेका हुन् । आज शनिबार प्रिमियर लिगमा लिड्स युनाइटेडविरुद्ध १ गोल गर्दै सनले टोटनह्यामका लागि सबैखाले प्रतियोगिताबाट १०० गोलको आँकडा पूरा गरेका हुन् ।

लिड्सविरुद्ध सनले खेलको ४३औं मिनेटमा ह्यारी केनको पासमा निकै सुन्दर गोल गरेका थिए, जुन इंग्लिस क्लबका लागि सनका तर्फबाट १००औं गोल थियो । सनले टोटनह्यामका लागि सबैखाले प्रतियोगिताबाट २५२ खेल खेल्दै १०० गोल पूरा गरेका हुन् । सन् सिजन २०१५–१६ देखि टोटनह्याममा छन् ।

जारी सिजन सन निकै राम्रो लयमा छन् । यो सिजन सबैखाले प्रतियोगिताबाट उनले २४ खेल खेल्दै १५ गोल र ५ असिस्ट गरेका छन् । यो सिजन टोटनह्याममा सन र केनको जोडी निकै शानदार ढंगले जमिरहेको छ ।

प्रकाशित मिति १८ पुष २०७७, शनिबार २०:२९
Loading...