बार्सिलोनाले भन्यो– ‘कोउटिन्होको शल्यक्रिया सफल’

एजेन्सी, पुस १८
स्पेनिस फुटबल क्लब बार्सिलोनाका ब्राजिलियन मिडफिल्डर फिलिपे कोउटिन्होको सफल शल्यक्रिया भएको छ । आज क्लब बार्सिलोनाले अफिसियल रूपमा कोउटिन्होको शल्यक्रिया सफल भएको जानकारी दिएको छ । साथै, बार्सिलोनाले कोउटिन्होलाई निको भएर पुनः मैदान फर्किन कम्तीमा ३ महिना लाग्ने पनि जनाएको छ ।

कोउटिन्होको देब्रे घुँडाको जोर्नीको शल्यक्रिया भएको हो । सामान्यतः यस्तो केसमा खेलाडीलाई पूर्ण रूपमा रिकभर हुन ४ महिनाभन्दा बढी समय लाग्छ । बार्सिलोनाले भने कोउटिन्हो ३ महिनामा ठीक हुने अपेक्षा गरेको छ ।

कोउटिन्हो डिसेम्बर २९ तारिखमा ला लिगामा वर्षको अन्तिम खेल एइबारसँग खेल्नेक्रममा घाइते भएका थिए । उनको चेकजाँचपछि बार्सिलोनाले आज उनको शल्यक्रिया गरेको जनाएको छ । ३ महिना मैदानबाहिर रहने भएपछि कोउटिन्होले यो सिजनका धेरै खेल गुमाउने पक्का भएको छ । जारी सिजन उनले १४ खेलबाट ३ गोल र २ गोलमा असिस्ट गरेका छन् ।

प्रकाशित मिति १८ पुष २०७७, शनिबार १७:४३
Loading...