कोउटिन्हो घाइते हुँदा लिभरपुललाई २ अर्ब ८५ करोड !

एजेन्सी, पुस १८
स्पेनिस फुटबल क्लब बार्सिलोनाका ब्राजिलियन मिडफिल्डर फिलिपे कोउटिन्हो घाइते हुँदा उनको पूर्वक्लब लिभरपुललाई भने ठूलो आर्थिक घाटा हुने भएको छ । कोउटिन्हो सन् २०१८ मा लिभरपुलबाट कूल १६० मिलियन युरोमा बार्सिलोना पुगेका थिए । त्यसबेला दुई क्लबबीच भएको सम्झौताअनुसार कोउटिन्होले बार्सिलोनाका लागि तीन सिजनभित्रमा १०० अफिसियल खेल पूरा गरे लिभरपुलले बोनसबापत २० मिलियन युरो पाउने सर्त थियो ।

तर, कोउटिन्हो चोटका कारण लामो समय मैदानबाहिर रहने पक्का भएपछि उनले जारी सिजन २०२०–२१ भित्रै १०० अफिसियल खेल खेल्ने सम्भावना करिब–करिब सकिएको छ । दायाँ खुट्टाको जोर्नीको अप्रेसन गर्नुपर्ने भएपछि उनी कम्तीमा पनि ४ महिना मदान फर्किन पाउनेछैनन् । यसको अर्थ उनले यो सिजनका सबै खेल गुमाउनेछन् ।

हालसम्म कोउटिन्होले बार्सिलोनाका लागि ९० अफिसियल खेल खेलेका छन् । उनलाई अब १०० अफिसिल खेल पूरा गर्न थप १० खेलमा सहभागी हुनुपर्छ । तर, गम्भीर चोट बोकेपछि उनले यस सिजनभित्र थप १० अफिसियल खेल खेल्न सक्ने अवस्था छैन । यो अवस्थामा लिभरपुलले सम्झौताअनुसार बार्सिलोनाबाट पाउने २० मिलियन युरो (नेपाली रुपैयाँ २ अर्ब ८५ करोडभन्दा बढी) रकम नपाउने भएको छ ।

कोरोना भाइरसका कारण यस्तो आर्थिक संकटबीच लिभरपुलले बार्सिलोनाबाट पाउन सक्ने अर्बौं रुपैयाँ नपाउँदा उसलाई घाटा हुने भएको छ । यता, बार्सिलोनालाई कोउटिन्होको चोटका कारण टोलीमा समस्या हुने भए पनि आर्थिक हिसाबले ठूलो रकम जोगिने भएको छ । किनभने, कोउटिन्हो घाइते भएर थप १० खेल खेल्न नपाउने अवस्थामा उसले २० मिलियन युरो लिभरपुलाई दिनुपर्ने छैन ।

कोउटिन्होले जारी सिजन १४ खेलबाट ३ गोल गर २ असिस्ट गरेका छन् । उनले ला लिगामा २ र च्याम्पियन्स लिगमा १ गोल गरेका छन् । लिभरपुलबाट बार्सिलोना आएपछि नै सामान्य मात्रै प्रदर्शन गर्दै आएका उनी अहिले पनि जम्न सकेका छैनन् । गत समरमा जर्मन क्लब बार्यन म्युनिखबाट एकवर्षे लोन पूरा गरेर आएका कोउटिन्होलाई प्रशिक्षक रोनाल्ड कोम्यानले आफ्नो योजनामा राखेका छन् । तर, पछिल्लो समय उनलाई बार्सिलोनाले बेच्ने तयारी गरेको चर्चा चल्न थालेको थियो ।

प्रकाशित मिति १८ पुष २०७७, शनिबार १३:०३
Loading...