नयाँ वर्षको पहिलो खेल टोटनह्याम लिड्ससँग खेल्दै : जितको बाटोमा फर्किन दबाब

काठमाडौं, पुस १८
इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होडमा रहेको टोटनह्यामले नयाँ वर्ष २०२१ को पहिलो खेल आज लिड्स युनाइटेडसँग खेल्दै छ । लिगको १६औं साताको खेल खेल्न टोटनह्यामले लिड्सलाई आफ्नो घरमा स्वागत गर्दै छ । खेल नेपाली समयअनुसार साँझ ६ः१५ बजेबाट सुरु हुनेछ ।

हाल अंक तालिकामा टोटनह्याम १५ खेलपछि २६ अंकका साथ सातौं स्थानमा छ । केही समयअघिसम्म उत्कृष्ट लयमा रहेर लिग लिडर रहेको टोटनह्याम पछिल्ला ४ खेलको खराब नतिजाका कारण चिप्लिएर सातौं स्थानमा पुगेको छ । टोटनह्यामले लिगका पछिल्ला ४ खेलमा कुनै खेल जितेको छैन । जसमा उसले २ खेल हारेको छ भने २ खेलमा बराबरीमा रोकिएको छ ।

यता, यो सिजन शीर्ष लिगमा बढुवा भएको लिड्स हाल १६ खेल सकिँदा २३ अकका साथ ११औं स्थानमा छ । यो सिजन लिड्सले केही ठूला टिमलाई समस्यामा पारेको छ । समग्रमा उसले राम्रो प्रदर्शन गर्दै आएको छ । उसले लिगका पछिल्ला २ खेल लगतार जितेको छ भने पछिल्ला ५ खेलमा ३ खेल जितेर २ खेल हारेको छ, यो टोटनह्यामको भन्दा राम्रो अवस्था हो । पछिल्ला ५ खेलबाट टोटनह्यामले मात्रै ५ अंक जोड्दा लिड्सले भने ९ अंक जोडेको छ ।

आज आफ्नो घरेलु मैदानमा उत्रिँदा टोटनह्याम लिड्सलाई हराएर जितको बाटोमा फर्किने दाउमा छ । आज नयाँ वर्षको पहिलो खेल्ने हुँदा पनि टोटनह्यामथि २०२१ को सुरुआत जितका साथ गर्नुपर्ने दबाब छ । तर, त्यसका लागि उसले नयाँ तर एक बलियो टोलीविरुद्ध निकै चनाखो भएर खेल्नुपर्ने छ ।

आज हुने खेलहरू नेपाली समयमा

टोटनह्याम भर्सेस लिड्स युनाइटेड – साँझ ६ः१५ बजे
क्रिस्टल प्यालेस भर्सेस सेफिल्ड युनाइटेड – राति ८ः४५ बजे
ब्राइटन भर्सेस उल्भ्स – राति ११ः१५ बजे
वेस्ट ब्रुम भर्सेस आर्सनल – राति १ः४५ बजे

प्रकाशित मिति १८ पुष २०७७, शनिबार ११:५०
Loading...