रियल मड्रिड २०२१ को पहिलो खेल आज सेल्टासँग खेल्दै

काठमाडौं, पुस १८
स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा आजबाट नयाँ वर्ष २०२१ का खेलहरू हुँदैछन् । साबिक विजेता रियल मड्रिडले यस वर्षको पहिलो खेल आज राति सेल्टा भिगोसँग आफ्नो घरेलु मैदानमा खेल्दै छ । यो खेल नेपाली समयअनुसार राति ठीक १ः४५ बजेबाट सुरु हुनेछ ।

आजको खेल रियल र सेल्टा दुवैका लागि लिगको १७औं साताको खेल हुनेछ । हाल अंक तालिकामा रियल १६ खेलपछि ३३ अंकसहित दोस्रो स्थानमा छ । २ खेल कम खेलेको लिग लिडर एथ्लेटिको मड्रिडभन्दा रियल २ अंकले पछि छ । यता, सेल्टा २३ खेलपछि लिगको आठौं सथानमा रहेको छ ।

पछिल्लो समय उत्कृष्ट लयमा रहेको रियलले यसअघि वर्ष २०२० को अन्तिम खेल भने इल्चेसँग उसकै मैदानमा १–१ को बराबरी खेलेको थियो । रियल लिगका पछिल्ला ६ खेलमा अपराजित छ । जसमा उसले ५ खेल जितेर १ खेल बराबरी गरेको छ । रियल आज वर्षको पहिलो खेल घरेलु मैदानमा खेल्दा राम्रो नतिजाको खोजीमा हुनेछ ।

रियल मड्रिड आजको खेल जितेर नयाँ वर्षको सुरुआत जितका साथ गर्न मात्रै चाहँदैन, लिग लिडर एथ्लेटिको मड्रिडसँगको अंक दूरी समेत घटाउने दाउमा हुनेछ । आज जिते रियल शीर्ष टोली एथ्लेटिकोले आफ्नो १५औं खेल नखेल्दासम्म उसलाई १ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लिनेछ । तर, एथ्लेटिकोसँग अतिरिक्त ३ खेल बाँकी नै हुनेछन् ।

प्रकाशित मिति १८ पुष २०७७, शनिबार १०:४३
Loading...