नयाँ वर्षकोे पहिलो खेलमा युनाइटेडको जित : लिग लिडर लिभरपुलसँग अंक बराबरी

काठमाडौं, पुस १८
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले नयाँ वर्ष २०२१ को सुरुआत जितका साथ गरेको छ । वर्षको पहिलो खेल जित्दै उसले लिग लिडर लिभरपुलसँग अंक पनि बराबरी गरेको छ । गत राति भएको लिगको १६औं साताको खेलमा एस्टोन भिल्लालाई २–१ ले हराउँदै युनाइटेडले महत्त्वपर्ण ३ अंक जोड्दै लिगको शीर्ष स्थानको लिभरपुलसँग अंक बराबरी गरेको हो ।

यो जितसँगै युनाइटेडले उपाधि होडमा लिभरपुलसँग टक्करमा उत्रिएको छ । दुवैले समान १६–१६ खेल खेल्दा समान ३३–३३ अंक जोडेका छन् । तर, गोलअन्तरमा लिभरपुल शीर्ष स्थानमा छ । सिजनको सुरुआत कमजोर गरेको युनाइटेड पछिल्लो समय उत्कृष्ट लयमा फर्किएको छ ।

आफ्नो घरेलु मैदान ओल्ट ट्राफोर्डमा भएको खेलमा युनाइटेडका लागि खेलको ४०औं मिनेटमा एन्थोनी मार्सियालले गोल गरेरका थिए । त्यसपछि पाहुना टोली भिल्ला ५८औं मिनेटमा खेलमा फर्कियो । उसका लागि बरट्रान्ड ट्राओरेले गोल गरेर खेल बराबरी बनाए ।

तर, गोल खाएको केही मिनेटमै युनाइटेडले पेनाल्टी पायो । बक्समा भिल्लाका खेलाडीले युनाइटेडका पाउल पोग्बालाई बक्समा लडाएपछि पाएको पेनाल्टीमा ब्रुनो फर्नान्डेजले गोल गर्दै खेल २–१ बनाए । अन्ततः युनाइटेडले सोही अग्रता बचाएर खेल जित्यो ।

अब यो जितपछि युनाइटेड १६ खेलबाट ३३ अंक जोडेर दोस्रो स्थानमा छ । समान खेलबाट समान अंक भएको लिभरपुल शीर्ष स्थानमा रहँदा पराजित भिल्ला भने १५ खलबाट २६ अंकका साथ छैटौं स्थानमा रहेको छ ।

प्रकाशित मिति १८ पुष २०७७, शनिबार ०८:२९
Loading...