सबैथोक जितें, अब विश्वकप जित्ने सपना छ : रोनाल्डो

एजेन्सी, पुस १७
पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो आधुनिक फुटबल जगतका यस्ता खेलाडी हुन्, जसले आफूले खेलेमध्ये सबै प्रतियोगिताका उपाधि जितेका छन– शिवाय फिफा विश्वकप । उनले क्लब फुटबलमा घरेलु लिग, च्याम्पियन्स लिगदेखि अन्तर्राष्ट्रिय फुटबलमा युरो कप र युइएफए नेसन्स लिग सबै जितेका छन् । तर, चारपटक विश्वकप खेले पनि उनी आजसम्म विश्व च्याम्पियन भने भन्न सकेका छैनन् ।

यद्यपि, उमेरले ३६ वर्ष नजिक रहेका रोनाल्डोको सपना भने अझै पनि फिफा विश्वकप जित्ने रहेको छ । उनी आगामी फेब्रुअरी महिनादेखि ३६ वर्ष पुग्दैछन् । र, सन् २०२२ मा कतारमा हुने विश्वकप उनका लागि जीवनको अन्तिम विश्वकप हुनेछ, जतिबेला उनको उमेर ३७ वर्ष हुनेछ । तर, अझै पनि उनी पोर्चुगललाई विश्व च्याम्पियन बनाउने संकल्प बोकेका छन् ।

केही दिनअघि दुबईमा २१औं शताब्दीकै महान् खेलाडी घोषित भएपछि ‘बिबिसी’ सँग कुरा गर्दै रोनाल्डोले आफूले अझै पोर्चुगलबाट विश्वकप जित्न सक्ने दाबी गरेका छन् । इटालियन युभेन्टसबाट व्यावसायिक फुटबल खेलिरहेका रोनाल्डोले पोर्चुगल यस वर्ष २०२१ मा हुने युरो कप र २०२२ मा हुने फिफा विश्वकप दुवैको उपाधि दाबेदार टिमका रूपमा रहने बताएका छन् । साथै, उनले पोर्चुगलबाट विश्वकप जित्नु आफ्नो सपना रहेको पनि बताएका छन् ।

‘हामीले केही विशेष उपाधि यसअघि नै जितिसकेका छौं । म सन् २०१६ को युरो कप र २०१९ को नेसन्स लिगको विजेता हुँ । अब विश्वकप जित्न चाहन्छु । यो सम्भव छ । अवश्य पनि, म यो सम्भव देख्छु । हामी त्यसका लागि सकारात्मक र आत्मविश्वासी हुनु चैं आवश्यक छ,’ रोनाल्डोले भनेका छन् ।

पोर्चुगललाई विश्वकप जिताउनु आफ्नो सपना रहेको रोनाल्डोले बताएका छन् । ‘मैले सुरुआतबाटै भन्दै आएको छु– पोर्चुगलका लागि केही खास जित्नु मेरो सपना थियो । युरो कप र नेसन्स लिग मेरै कप्तानीमा जिताएको छु । यसबाट म निकै खुसी छु । मैले जहाँ गएर जे–जे खेलें, त्यहाँ सबै कुरा जितेको छु । र, अब विश्वकप जित्न बाँकी छ । र, यो मेरो जीवनको सपना पनि हो,’ रोनाल्डोले भने ।

रोनाल्डोले आफ्नो बढ्दो उमेरले निश्चित विन्दुसम्म कुनै फरक नपार्ने पनि बताएका छन् । आफू कहिलेसम्म खेल्न सक्छु भन्ने विषयमा आफूले सोचिसकेको रोनाल्डोले बताएका छन् । ‘उमेरले केही फरक पार्दैन । मुख्य कुरा त दिमागले फरक पार्छ । म दुई महिनामा ३६ वर्ष पुग्दै छु । तर, मलाई बढ्दो उमेरको अनुभूति भएको छैन । म कहिलेसम्म खल्न सक्छु भनेर मैले सोचेको छु । ४० वा ४१ वर्ष मेरा लागि फुटबल छाड्न उचित समय हुन सक्छ,’ उनले थपे ।

रोनाल्डोले यस वर्ष हुने युरो कप र अर्को वर्ष हुने विश्वकप दुवैमा पोर्चुगल उपाधिका लागि लड्ने बताए । साथै, उनले पोर्चुगलमा अहिले क्षमतावान् युवा खेलाडी तयार भएकाले पोर्चुगल सबै उपाधिको दाबेदार रहने बताए । ‘पोर्चुगलमा अहिले क्षमतावान् युवा खेलाडी तयार भएका छन् । उनीहरू युरोपका ठूला–ठूला क्लबमा उच्च स्तरमा रहेर खेलिरहेका छन्,’ रोनाल्डोले भने, ‘अवश्य पनि, पोर्चुगलले आगामी युरो कप र फिफा विश्वकप दुवै जित्न सक्छ । हामी विश्वकपमा जुनसुकै टिमलाई पनि हराउन सक्छौं । र, उपाधि जित्न सक्छौं ।’

प्रकाशित मिति १७ पुष २०७७, शुक्रबार १५:०२
Loading...