२०२० का खेल सकिएपछि सिमोनीले भने– ‘२०२१ हाम्रो वर्ष हुनेछ’

एजेन्सी, पुस १६
स्पेनिस क्लब एथ्लेटिको मड्रिडका प्रमुख प्रशिक्षक डिएगो सिमोनीले यो सिजन आफूहरूको सिजन हुने बताएका छन् । गत राति आफ्नो घरेलु मैदानमा गेटाफेमाथि १–० को जित निकाल्दै वर्ष २०२० को बिदाइ गरेपछि उनले यस्तो बताएका हुन् । खेलपछि पत्रकार सम्मेलनमा सहभागी हुँदै अर्जेन्टिनी म्यानेजरले यो सिजन ला लिगा र अन्य प्रतियोगिताको उपाधि होडबारे धारणा राखे ।

गत रातिको जितपछि एथ्लेटिको १४ खेल सकिँदा ३५ अंक बनाएर लिगको शीर्ष स्थानमा २ अंकको अग्रता बनाएको छ । २ खेल बढी खेलेको रियल मड्रिड १६ खेलबाट ३३ अंकसहित दोस्रो स्थानमा रहेको छ । त्यसैगरी, बार्सिलोना १५ खेलबाट २५ अंक बनाएर छैटौं स्थानमा छ । ताजा स्थितिमा एथ्लेटिको प्रमुख उपाधि दाबेदारहरू रियलभन्दा २ र बार्सिलोनाभन्दा १० अंकले अघि छ । एथ्लेटिकोले अझै बार्सिलोनाभन्दा १ र रियलभन्दा २ बढी खेल्न बाँकी नै छ ।

‘आजको जित हाम्रा लागि आवश्यक थियो । हामी कुनै पनि हालतमा यो जित चाहन्थ्यौं । किनभने, हामी यो खेल जितेर यस वर्षलाई बिदा गर्न चाहन्थ्यौं । र, हामी यसमा सफल पनि भयौं,’ गेटाफेसँको खेलपछि सिमोनीले भने, ‘हामी धेरै खुसी छौं । किनभने, लिग लिडर बनेर हामी नयाँ वर्षमा जाँदै छौं । आशा छ, नयाँ वर्ष २०२१ मा पनि हामी यो लयलाई कायमै राख्नेछौं ।’

सिमोनीले लिगमा अझै लामो बाटो रहेकाले उपाधि होडबारे बोलिहाल्नु हतारो हुने बताएका छन् । अहिले पछि परेको स्थिति भए पनि बार्सिलोना र रियल मड्रिडले बाँकी खेलबाट प्रतिस्पर्धा बढाउने सिमोनीले बताए । ‘अहिले हामी २ अंकले अघि हुनुको अर्थ अब अन्तिमसम्म नै यही हुन्छ भन्ने होइन । लिगमा अझै लामो बाटो बाँकी छ । रियल मड्रिड र बार्सिलोना बाँकी खेलबाट उपाधि होडमा प्रतिस्पर्धामा आउनेछन् । किनभने, आधाभन्दा बढी खेल बाँकी रहेको अवस्थामा हाम्रा लागि खराब समय आउन सक्छ र उनीहरूले राम्रा दिन फर्काउन सक्छन् । फुटबलमा जे पनि सम्भव हुन्छ,’ उनले थपे ।

तर, सिमोनीले एक प्रशिक्षकका रूपमा यस सिजन एथ्लेटिकोले स्पेनमा राम्रो गर्ने विश्वास लिँदै यस सिजनलाई आफूहरूको बनाउन चाहेको बताएका छन् । ‘हामी सधैं जित्नकै लागि खेल्थ्यौं । सबै टिम जित्न नै चाहन्छन् । तर, यसपटक म उत्साहित छु, टिम उत्साहित छ । यहाँसम्म आइपुग्दा हामीले राम्रो गरिरहेका छौं,’ सिमोनीले भने, ‘मलाई लाग्छ, यो समय हाम्रो हो । तर, हामीले यो सिजनलाई आफ्नो बनाउन अझै कडा मेहनत र संघर्ष गर्नुपर्छ । हामी लिग च्याम्पियन बन्न अन्तिमसम्म धैर्यतापूर्वक लड्नेछौं ।’

सिमोनीले एथ्लेटिकोले यो सिजन ला लिगा मात्रै नभएर च्याम्पियन्स लिगसहित स्पेनका अन्य घरेलु प्रतियोगितामा पनि दाबेदारी दिने बताए । ‘हरेक सिनजन हामी च्याम्पियन्स लिग जित्ने अठोटका साथ सिजन सुरु गर्छौं । तर, समयले हामीलाई साथ दिँदैन । निश्चय नै, हामी यसपटक पनि यस प्रतियोगितामा धेरै परसम्म पुग्न चाहन्छौं । हामी च्याम्पियन्स लिगमा प्रतिस्पर्धी मात्रै होइनौं, उपाधि दाबेदार टिम हौं । हामी यस सिजन नयाँ तरिकाले प्रतिस्पर्धा गर्नेछौं,’ सिमोनीले भने, ‘हामी स्पेनमा कोपा डेल रे कपमा पनि उपाधि दाबेदारी टिमका रूपमा प्रस्तुत हुनेछौं ।’

एथ्लेटिको हाल ला लिगामा लिग लिडर हुँदा च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरिसकेको छ । अन्तिम आठमा जान उसले इंग्लिस क्लब चेल्सी प्रतिस्पर्धी पाएको छ । यता, कोपा डेल रे भने सुरु हुन बाँकी नै छ । यस सिजन एथ्लेटिकोले स्पेनिस सुपर कप भने खेल्नेछैन ।

प्रकाशित मिति १६ पुष २०७७, बिहीबार १५:४५
Loading...