बिदा मनाएर रोनाल्डो प्रशिक्षणमा फर्किए : २०२१ को तयारी सुरु

एजेन्सी, पुस १५
इटालियन क्लब युभेन्टसका प्रमुख खेलाडी क्रिस्टियानो रोनाल्डो प्रशिक्षणमा फर्किएका छन् । वर्ष २०२० को क्रिसमस पर्वको बिदा मनाएर उनीसहितका अधिकांश खेलाडी बुधबार प्रशिक्षणमा फर्किएका हुन् । क्लब युभेन्टसले सिनियर टोलीका खेलाडीले नयाँ वर्ष २०२१ को खेलका लागि प्रशिक्षण क्याम्प सुरु गरेको जानकारी अफिसियल सामाजिक सन्जालमार्फत् दिएको छ ।

डिसेम्बर २२ तारिखमा सिरी ए लिगमा वर्ष २०२० को अन्तिम खेलमा आफ्नै घरमा फियोरेन्टिनासँग ०–३ ले हारेपछि खेलाडी बिदामा गएका थिए । क्रिसमसको बिदा मनाएर खेलाडी फर्किएका हुन् । युभेन्टसले आइतबार राति लिगमा १४औं साताको खेल घरेलु मैदानमा उडिनेससँग खेल्दैछ । सो खेलको तयारीका लागि रोनाल्डोसहितका खेलाडीले प्रशिक्षण थालिसकेका छन् ।

यसअघि घाइते रहेका कप्तान बोनुची, फरवार्ड अल्भारो मोराटा, पाउलो डिबाला, मिडफिल्डर वेस्टन म्याकेनी, आरोन राम्सेसहितका खेलाडीले सामूहिक प्रशिक्षणमा सुरु गरेका छन् । जारी सिजन लिगमा युभेन्टस १३ खेलपछि २४ अंक बनाएर छैटौं स्थानमा रहेको छ । ऊ हाल १४ खेल खेलेको लिग लिडर एसी मिलानभन्दा ठीक १० अंकले पछि छ ।

रोनाल्डो जारी सिजन लिगको सर्वाधिक गोलकर्ता खेलाडी हुन् । उनले हालसम्म १० खेलबाट १२ गोल र ३ असिस्ट गरेका छन् । वर्ष २०२० मा उनले क्लब तथा देशका लागि गरी ४४ खेलबाट ४४ नै गोल गरेर ९ असिस्ट गरेका थिए । केही दिनअघि मात्रै रोनाल्डो दुबईमा २१औं शताब्दीकै महान् खलाडी घोषित भएका थिए ।

प्रकाशित मिति १५ पुष २०७७, बुधबार २२:२५
Loading...