कोउटिन्होले बोके गम्भीर चोट : पूरै सिजन गुमाउन सक्ने

एजेन्सी, पुस १५
स्पेनिस फुटबल क्लब बार्सिलोनाका ब्राजिलियन मिडफिल्डर फिलिपे कोउटिन्होले गम्भीर चोट बोकेका छन् । क्लब बार्सिलोनाले आज अफिसियल प्रेस नोट जारी गर्दै २८ वर्षीय प्ले मेकर घाइते भएको पुष्टि गरेको छ । बार्सिलोनाले मंगलबार आफ्नो घरमा एइबारसँग १–१ को बराबरी खेल्नेक्रममा कोउटिन्हो घाइते भएका थिए ।

दोस्रो हाफमा मैदान छिरेका उनी चोट बोकेपछि खेल सकिनुअघि नै मैदान छाडेका थिए । ५ जनै खेलाडी परिवर्तन गरिसकेको अवस्थामा कोउटिन्हो घाइते भएर मैदान छाडेपछि बार्सिलोनाले अन्तिम केही समय १० खेलाडीमा खेलेको थियो । कोउटिन्होलाई मेडिकल टिमले मैदानबाट निकालेको थियो ।

बार्सिलोनाको कोउटिन्होको देब्रे खुट्टाको जोर्नीमा चोट परेको छ । उनको शल्यक्रिया हुने बार्सिलोनाले जनाएको छ । थप चेकजाँच पछि उनको शल्यक्रिया गरिनेछ । शल्यक्रिया भइसकेपछि मात्रै कोउटिन्हो कति समय मैदान बाहिर रहन्छन् भन्ने कुरा थाहा हुनेछ । सामान्यतः यस्तो केसमा शल्यक्रियापछि खेलाडीलाई पूर्ण रूपमा ठीक हुन कम्तीमा पनि चार महिनासम्म लाग्छ । यो अवस्थामा कोउटिन्होले बाँकी सिजन पूरै गुमाउने देखिएको छ ।

कोउटिन्होको चोटपछि बार्सिलोनालाई समस्या बढेको छ । अर्का युवा स्टार अन्सु फाती चोटकै कारण टोलबाहिर रहेका बेला कोउटिन्हो पनि घाइते हुँदा बार्सिलोनाको फ्रन्ट लाइनको विकल्पमा अब समस्या बढ्न सक्छ । जारी सिजन कोउटिन्होले बार्सिलोनाका १४ खेल खेल्दै ३ गोल र २ असिस्ट गरेका छन् ।

प्रकाशित मिति १५ पुष २०७७, बुधबार २०:४५
Loading...