भिल्लारियललाई हराउँदै सेभिल्ला ला लिगाको चौथो स्थानमा

काठमाडौं, पुस १४
स्पेनिस ला लिगा फुटबलमा सेभिल्लाले लिगको अर्को बलियो टोली भिल्लारियलमाथि सहज जित निकालेको छ । मंगलबार राति वर्ष २०२० को अन्तिम खेलमा सेभिल्लाले आफ्नो घरेलु मैदानमा पाहुना टोली भिल्लारियलमाथि २–० को जित निकाल्न सफल भयो । यी दुवैै टोलीका लागि आजको खेल यस वर्षको अन्तिम खेल थियो ।

घरेलु मैदानमा सेभिल्लाका लागि पहिलो गोल खेलको आठौं मिनेटमा लुकास ओकाम्पसले पेनाल्टीमार्फत् गरेका थिए । त्यसपछि दोस्रो गोल खेलको ५३औं मिनेटमा युसेफ इएन नेसरीले गरेका थिए । सो गोलमा ओकाम्पसले नै असिस्ट प्रदान गरेका थिए । सो गोलपछि खेलमा थप गोल भएन । र, खेल सेभिल्लाले २–० ले जित्यो ।

अब यो जितपछि सेभिल्ला १४ खेलबाट २६ अंक जोडेर चौथो स्थानमा चढेको छ । पराजित, भिल्लारियल १६ खेलपछि २६ अंकका साथ पाँचौं स्थानमा छ । तर, मंगलबार राति अन्य खेल पनि हुने भएकाले यी खेलपछि हालको अंक तालिका फेरबदल हुन सक्नेछ ।

प्रकाशित मिति १४ पुष २०७७, मंगलवार २३:४२
Loading...