यी हुन् हल्यान्डका नजरमा तीन ‘खतरनाक डिफेन्डर’हरू

एजेन्सी, पुस १४
जर्मन क्लब बोरुसिया डर्टमुन्ड तथा नर्वेका युवा गोल मेसिन खेलाडी अर्लिङ हल्यान्डले आधुनिक फुटबलमा सबैभन्दा कठिन डिफेन्डरहरूको नाम चयन गरेका छन् । एक अन्तर्वार्तामा कुरा गर्दै २० वर्षीय स्ट्राइकरले सबैभन्दा खतरनाक डिफेन्डरहरू छानेका हुन् ।

हल्यान्डले स्पेनिस क्लब रियल मड्रिडका सर्जियो रामोसलाई कठिन डिफेन्डरहरूमध्ये पहिलो नम्बरमा राखेका छन् । उनले रामोस अक्सर विवादित र आक्रामक डिफेन्डर भए पनि उनीजस्तो डिफेन्डर २१औं शताब्दीमा कोही नरहेको बताएका छन् । ‘मेरो नजरमा सर्जियो रामोस २१औं शताब्दीका सबैभन्दा उत्कृष्ट डिफेन्डर हुन् । उनी फरवार्ड–स्ट्राइकरका लागि सधैं खतरनाक हुन्छन्,’ हल्यान्डले भनेका छन्, ‘उनी यस्ता सेन्टर ब्याक हुन्, जो आफ्नो बक्समा विपक्षी फरवार्डका लागि बाधक मात्रै बन्दैनन्, विपक्षीकै बक्समा तिनका डिफेन्डरहरूका लागि पनि उत्तिकै खतरनाक हुन्छन् ।’

हल्यान्डले अघि थपे, ‘भूमिकाले उनी सेन्टर डिफेन्डर हुन् । तर, उनी काम फरवार्डको गर्छन् । यदि म गलत छैन भने उनको जति गोल गर्ने डिफेन्डर कोही छैन । यो त उनको तथ्यांकले नै पुष्टि गर्छ । डिफेन्स लाइनमा रामोस छन् भने सधैं कठिन हुन्छ । र, यदि विपक्षीको बक्समा उनी छन् भने त्यहाँ पनि खतरा हुन्छ । किनभने, उनी एयर बलका लागि खतरनाक खेलाडी हुन् । आक्रामक खेल शैलीका कारण उनी बेला–बेला विवादित बन्छन् । तर, योभन्दा अघि उनको शानदार फुटबल छ ।’

त्यसैगरी, हल्यान्डले थप २ जना डिफेन्डरको नाम पनि लिएका छन् । उनले भनेका छन्, ‘मेरा लागि रामोस बेस्ट डिफेन्डर हुन् । त्यसपछि भर्जिल भान डाइक र काउलिडियो कोउलिबाली उत्कृष्ट छन् । यी ३ जना डिफेन्डर शारीरिक रूपमा जति मजबुत छन्, मैदानमा उत्तिकै चलाख पनि छन् ।’

प्रकाशित मिति १४ पुष २०७७, मंगलवार १९:४९
Loading...