मेस्सी भन्छन्– ‘म अमेरिकामा फुटबल खेल्न चाहन्छु’

काठमाडौं, पुस १४
स्पेनिस फुटबल क्लब बार्सिलोनाका सुपरस्टार लिओनल मेस्सीले भविष्यमा अमेरिकामा फुटबल खेल्ने चाहना रहेको बताएका छन् । ‘ला सेक्टा’सँगको ताजा अन्तर्वार्तामा कुरा गर्दै मेस्सीले फुटबलबाट सन्यास लिनुअघि आफूले केही समय अमेरिकामा खेल्ने चाहना व्यक्त गरेका हुन् ।

क्लब बार्सिलोनासँग मेस्सीको सम्झौता सकिन लाग्दा उनको यस्तो अभिव्यक्ति आएपछि यसलाई अर्थपूर्ण मानिएको छ । यो सिजनको समाप्तिसँगै मेस्सीले फ्रि ट्रान्सफरमा बार्सिलोना छाड्न पाउनेछन् । तर, उनी इंग्लिस क्लब म्यानचेस्टर सिटी जान सक्ने चर्चा विगतबाटै चल्दै आएको छ ।

‘भविष्यमा के हुन्छ र म के गर्छु मैले अहिलेसम्म सोचेको छैन । म अहिले सिजनको अन्त्यको प्रतीक्षामा छु । तर, मेरो चाहना छ कि, भविष्यमा अमेरिकामा फुटबल खेलूँ । किनभने, म त्यहाँको लिग र जीवनको अनुभूति संगाल्न चाहन्छु,’ मेस्सीले भनेका छन् ।

मेस्सीले आफूले बार्सिलोना छाडे पनि सम्मानजनक र सुखद् अवस्थाबाट बिदा लिन चाहेको पनि बताएका छन् । ‘अहिलेको अवस्थामा म बार्सिलोनामै केन्द्रित हुनुपर्छ । यो सिजन म बार्सिलोनालाई सबैथोक जिताउन चाहन्छु । सिजन नसकिँदासम्म म अन्य सबै कुरालाई परै राख्न चाहन्छु,’ मेस्सीले भनेका छन्, ‘जबसम्म म यहाँ रहन्छु, मेरो मेहनत र प्रतिबद्धतामा कति पनि कमी आउनेछैन ।’

प्रकाशित मिति १४ पुष २०७७, मंगलवार १८:००
Loading...