७ वर्षपछि रोनाल्डो र ओजिल पुनः एक हुने !

एजेन्सी, पुस १४
पछिल्लो वर्ष इंग्लिस क्लब आर्सनलमा खराब समय बिताइरहेका जर्मन प्ले मेकर मेसुट ओजिल इटालियन क्लब युभेन्टस जाने चर्चा सुरु भएको छ । फुटबलको सरुवा बजारका ताजा रिपोर्टहरूअनुसार ओजिल आफैंले फ्रि ट्रान्सफरमा युभेन्टस जान अफर गरेका छन् । ३२ वर्षीय ओजिल आधुनिक फुटबलमा उत्कृष्ट अट्याकिङ मिडफिल्डरमध्ये एक हुन् ।

तर, आर्सनलमा उनी गत सिजनबाटै राम्रो स्थितिमा छैनन् । अघिल्ला प्रशिक्षक युनाई इम्री र हालका प्रशिक्षक मिकेल आर्टेटाको नेतृत्वतमा ओजिल लगतार मैदानबाहिर रहेपछि ओजिलको भविष्य लन्डनमा करिब–करिब सकिएको छ । यी दुवै प्रशिक्षकले ओजिललाई लगातार बायस गर्दै आए ।

हाल आर्सलनमा ओजिलको अवस्था यति खराब छ कि, उनले यो सिजनका आधा खेल सकिन लाग्दा १ खेल पनि खेल्न पाएका छैनन् । ओजिलजस्ता विश्वकप विजेता खेलाडीका लागि यो हालत निकै दुःखलाग्दो छ । गत सिजन उनले कूल २३ खेल खेल्दै १ गोल गरेका थिए । तर, यो सिजन त उनले मैदानमा टेक्नसमेत पाएका छैनन् । ओजिल ८ वर्षदेखि आर्सनलमा छन् ।

प्रशिक्षक आर्टेटाले पनि स्पष्ट रूपमा आर्सनलमा ओजिलको भविष्य नरहेको र उनलाई आफूले टोलीमै नराख्ने बताइसकेका छन् । यसको अर्थ ओजिल सक्दो चाँडो लन्डन क्लब छाडेर खेल्न पाउने क्लबमा जान चाहन्छन् । र, त्यसका लागि उनले युभेन्टसलाई आफ्नो सम्भावित गन्तव्यका रूपमा हेरेका छन् ।

यता, युभेन्टसका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले आर्सनलमा ओजिलको अवस्था बुझेर उनलाई अनुबन्ध गर्न क्लबलाई सुझाव दिएको खबर इटालियन मिडियाले छापेका छन् । रोनाल्डो र ओजिलले सिजन २०१०–११ देखि सिजन २०१३–१४ सम्म रियल मड्रिडमा सँगै खेलेका थिए । त्यसबेला रियलमा रोनाल्डो र ओजिलको शानदार साझेदारी जोडी मैदानमा देखिएको थियो । ७ वर्षपछि उनीहरू पुनः एक हुने चर्चा सुरु भएको छ ।

यदि ओजिललाई युभेन्टसले आर्सनलबाट फ्रि ट्रान्सफरमा अनुबन्ध गर्न सके रोनाल्डो र ओजिल पुनः एक हुनेछन् । सम्भवतः विगतमा लामो समय सँगै खेलेका कारण ओजिलको अनुबन्धले युभेन्टसको फ्रन्ट लाइनलाई निकै ठूलो फाइदा पुग्न सक्छ । क्लबमा खेल्नै नपाउने अवस्थामा आर्सनलले पनि ओजिललाई फ्रि ट्रान्सफरमा छाड्ने बताइन्छ ।

प्रकाशित मिति १४ पुष २०७७, मंगलवार १२:५४
Loading...