बार्सिलोना आज वर्ष २०२० को अन्तिम खेल एइबारसँग खेल्दै

काठमाडौं, पुस १४
स्पेनिस ला लिगा फुटबलमा आज वर्ष २०२० को अन्तिम चरणको खेलका रूपमा विभिन्न ४ खेलहरू हुँदैछन् । आज हुने खेलमध्ये एक खेलमा बार्सिलोना र एइबार आमनेसामने हुँदैछन् । यी दुवै टोलीका लागि आजको खेल यस वर्षको अन्तिम खेल हुनेछ । यो खेल बार्सिलोनाको घरेलु मैदानमा नेपाली समयअनुसार राति ठीक १२ बजेबाट सुरु हुनेछ ।

आज बार्सिलोना आफ्नो घरेलु मैदानमा हुने यो खेल जितेर यस वर्षलाई सुखद् स्थितिबाट बिदाइ गर्ने दाउमा छ । त्यसका लागि ऊ पाहुना टोली एइबारमाथि क्याम्प नोउ रंगशालामा सकेसम्म राम्रो नतिजा निकाल्न चाहन्छ । तर, आज आफ्नो घरमा उत्रिँदा बार्सिलोनाको टोलीमा आज कप्तान लिओनल मेस्सी उपलब्ध छैनन् ।

क्लब बार्सिलोनाले अघिल्लो दिन नै अफिसियल प्रेस नोट जारी गर्दै मेस्सीले चोटका कारण आज राति हुने एइबारसँगको खेल गुमाउने बताएको छ । मेस्सी यो खेलपछि मात्रै प्रशिक्षणमा फर्किनेछन् । र, जनवरी ३ तारिखमा हुने हुएस्काविरुद्धको खेलबाट मैदान फर्किने सम्भावना छ । तसर्थ, आज बार्सिलोनालाई आफ्नै घरमा प्रमुख खेलाडी मेस्सीबिनै जित निकाल्नुपर्ने दबाब छ ।

यो सिजन कमजोर स्थितिबाट अघि बढिरहेको बार्सिलोनाले आज स्पष्ट जितका लागि भरमग्दुर प्रयास गर्नेछ । यदि आज पनि स्पष्ट जित निकाल्न नसके बार्सिलोनाका लागि थप संकट बढ्नेछ । हाल अंक तालिकामा बार्सिलोना १४ खेलपछि २४ अंक बनाएर पाँचौं स्थानमा रहेको छ । ताजा स्थितिमा बार्सिलोना पहिलो स्थानको एथ्लेटिको मड्रिड र दोस्रो स्थानको रियल मड्रिडभन्दा समान ८–८ अंकले पछि छ । यता, एइबार १५ खेलपछि १५ अंक बनाएर १७औं स्थानमा छ ।

प्रकाशित मिति १४ पुष २०७७, मंगलवार ०९:५५
Loading...