पोर्चुगलले आगामी युरो कप र विश्वकप दुवै जित्न सक्छ : रोनाल्डो

एजेन्सी, पुस १३
पोर्चुगलको राष्ट्रिय टोलीका कप्तानसमेत रहेका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले दाबी गरेका छन् कि, पोर्चुगलले आगामी युरो कप र फिफा विश्वकप दुवै प्रतियोगिता जित्न सक्छ । हिजो (आइतबार) दुबईमा २१औं शताब्दीकै महान् खेलाडीको अवार्ड ग्रहण गरेपछि रोनाल्डोले यस्तो दाबी गरेका हुन् ।

अवार्ड ग्रहण गर्नुअघि कार्यक्रम प्रस्तोतासँग प्रत्यक्ष प्रश्नोत्तर कुरा गर्दै रोनाल्डोले पोर्चुगलसँग अहिले युवा र अनुभवी खेलाडीको राम्रो सेट रहेकाले पोर्चुगल अर्को वर्ष २०२१ मा हुने युरो कप र त्यसपछि २०२२ मा हुने विश्वकप दुवै जित्न सक्ने दाबी गरेका हुन् । रोनाल्डोले आफू र आफ्ना खेलाडी त्यसका लागि दृढ रहेको बताए ।

‘पोर्चुगलसँग एक ठूला प्रशिक्षक छन् । र, युवा खेलाडी छन्, जो अहिले प्रशस्तै सिकिरहेका छन् । अवश्य पनि, हामी आगामी युरो कप र विश्वकपको च्याम्पियन बन्न सक्छौं । हामी त्यसका लागि संघर्ष गर्नेछौं । किनभने, हामी २०१६ को युरो च्याम्पियन हौं,’ रोनाल्डोले भनेका छन्, ‘हामीसँग युवा र अनुभवी खेलाडीको राम्रो टिम छ । मलाई विश्वास छ, यो टिमले जुनसुकै प्रतियोगिता पनि जित्न सक्छ ।’

युरो कपको समूह चरणमै विश्व फुटबलका बलिया टोलीहरूसँग ड्र परेको विषयमा रोनाल्डोले भनेका छन्, ‘हामी सधैं उच्च मनोबलमा हुन्छौं । युरो कपमा हामीले फ्रान्स, जर्मनीजस्ता टिमसँग खेल्नुपर्ने छ । तर, हामी ती सबै टिमलाई हराउन सक्छौं । उनीहरू जति जितका दाबेदार छन्, हामी पनि त्यत्तिकै छौं । यो टिमको प्रतिनिधित्व गर्न पाउँदा मलाई गर्व लाग्छ ।’

प्रकाशित मिति १३ पुष २०७७, सोमबार २२:१५
Loading...