ताजा अन्तर्वार्तामा मेस्सीका १० भनाइ : क्लब छाड्ने विषयमा के भने ?

एजेन्सी, पुस १३
स्पेनिस फुटबल क्लब बार्सिलोनाका कप्तान लिओनल मेस्सीले आफूले यो सिजनको अन्त्यमा नपुग्दासम्म अन्य क्लब जाने विषयमा कुरा नगर्ने बताएका छन् । साथै, क्लबमा आफ्नो पछिल्लो अवस्था र मनस्थितिबारे पनि खुलेर बताएका छन् । पूर्वअध्यक्ष जोसेप मारिया बार्टोमेउसँगको सम्बन्धबारे उनले टिप्पणी गरेका छन् ।

‘ला सेक्टा’सँगको विशेष अन्तर्वार्तामा मेस्सीले आफू अहिले लयमा फर्किन संघर्षरत रहेको बताउँदै आफूले अब कम्तीमा एक च्याम्पियन्स लिग जित्न चाहेको बताएका छन् । साथै, उनले जारी सिजन ला लिगामा बार्सिलोनालाई निकै कठिन हुने पनि बताएका छन् । अन्तर्वार्ताक्रममा मेस्सीले बोलेका १० प्रमुख भनाइ यस्ता छन्–

१. बार्सिलोनालाई म धेरै माया गर्छु । किनभने, यो मेरो घर हो । यहाँबाट मैले सबैथोक पाएको छु । आज म जहाँ छु र जे छु, यो सबै बार्सिलोनामा भएका कारणले छु । मलाई यो भन्न कुनै शंकोच छैन कि, बार्सिलोनाले मलाई सबथोक दिएको छ । जहाँसम्म मलाई लाग्छ, मैले पनि यस क्लबलाई आफ्नो शतप्रतिशत दिएको छु । र, अहिले पनि प्रयास गरिरहेको छु । तपाईंलाई थाहा छ, एकै क्लबमा १५ वर्षभन्दा लामो समय रहेर एकै स्तरमा खेल्न ज्यादै कठिन छ । यहाँ रहनुको अर्थ सधैं बेस्ट दिन तयार हुनु र दिँदै आउनु हो । तैपनि, यी सबै कुरा समर्थकहरूले मूल्यांकन गर्नुहुनेछ ।

२. मेरा लागि समर्थकहरूको माया ठूलो कुरा हो । सबै खेलाडीका लागि यो विशेष नै हुन्छ । तर, फुटबलको मैदान, हार–जित, उपाधि, अवार्ड, गोल संख्या र रेकर्डभन्दा बाहिर पनि खेलाडीको जीवन हुन्छ । मेरा लागि फुटबलभन्दा पहिला मेरो परिवार आउँछ । त्यसपछि मात्रै फुटबल । आजसम्म म आत्मसन्तुष्टि, परिवार र फ्यानहरूका लागि फुटबल खेलिरहेको छु । यो समय कति पर पुग्छ, थाहा छैन । तर, म जहिलेसम्म मैदानमा हुन्छु, फ्यानहरूलाई खुसी दिइराख्न प्रयास गर्नेछु ।

३. वर्ष २०२० हाम्रा लागि धेरै कठिन भयो । फुटबलका लागि मात्रै हैन, विश्वकै लागि कठिन भयो । लामो समय फुटबल भएन । अहिले भइरहे पनि रंगशालाहरू बन्द छन् । समर्थक छैनन् । कोभिडको कडा प्रोटोकल छ । अन्य थुप्रै सीमा र दायरामा हामी छौं । जब हामी फ्यानबिना फुटबल खेल्छौं, यो ज्यादै अल्छीलाग्दो र नरमाइलो हुन्छ । म यसलाई शब्दमा व्यक्त गर्न सक्दिनँ । तर, मलाई आशा छ कि वर्ष २०२१ मा नियमहरू परिवर्तन हुनेछन् । अवस्था सामान्य बन्दै जानेछ । हामीले फ्यानसहित भरिभराउ रंगशालामा फुटबल खेल्न पाउनेछौं । तर, त्योभन्दा पहिला हाम्रो र सबै मानिसको जीवन सुरक्षित हुनुपर्छ ।

४. मलाई थाहा थियो, तपाईंले बार्यन म्युनिखसँगको ८–२ को हारबारे सोध्नुहुन्छ । अवश्य पनि, यो सबैका लागि खराब नतिजा थियो । यो एक दुर्घटना थियो । यो हारपछि म थुप्रै दिन पीडामा रहें । परिवारसँग राम्रोसँग बोलिनँ । राम्रोसँग खान सकिनँ । कति दिन राम्रोसँग निदाउन सकिनँ । म मात्रै हैन, यस्तो चोटिल हारपछि जो कोहीलाई यसले सताउँछ । जब तपाईं एक उत्कृष्ट टोलीमा रहेर यस्तो पराजय भोग्नुहुन्छ भने त्यसले धेरै ठूलो पीडा दिन्छ । खेलमा हार–जित स्वभाविक छ । तर, बार्यनसँग हामी त्यसरी हार्नुहुँदैन थियो ।

५. यो एक रमाइलो प्रसंग हो । यी कुरा मैले पहिला पनि बोलेको छु । मेरा बच्चाहरू खास गरी माइलो छोरा क्रिस्टियानो रोनाल्डोको बारेमा कुरा गरिरहन्छ । उसले क्रिस्टियानोका खेलहरू हेर्छ । र गोल गर्दा सेलिब्रेसन पनि गर्छ । कहिलेकाहीं त बार्सिलोना हार्दा उसले मलाई पनि ट्रोल गर्छ, हाम्रो मजाक उडाउँछ । तर, ऊ त बच्चा हो । उसको स्वभाव अलि फरक छ । तर, अहिले ऊ सानै छ । उसले सबै कुरा बुझ्न थालेको छैन । जब उसले बुझ्न थाल्छ, उसलाई म यी कुराहरू भन्नेछु ।

६. बाहिर चर्चा भएजस्तो बार्टोमेउसँग मेरो सम्बन्ध त्यत्ति खराब बनेको थिएन । यो साँचो हो कि, उनका केही योजना र निर्णयसँग मेरो फरक मत थियो । गत सिजन खराब बन्दा क्लबले राम्रो योजना बनाएको थिएन । मलाई यसमा चित्त बुझेको थिएन । मैले क्लब छाड्न चाहेको साँचो हो । तर, उनले (बार्टोमेउ) ले मलाई अवरोध गरे । म निराश थिएँ । म कानुनी उपचारमा पनि जान सक्थें । तर, म कसरी २०औं वर्ष बिताएको क्लबविरुद्ध मुद्दा हाल्न सक्छु ? जब यो अवस्था आउने देखें, म आफैं पछि हटें ।

७. यो सिजनको सुरुमा म ठूलो समस्यामा थिएँ । मेरो मनस्थिति अर्कै थियो । मैले निकै असहज अनुभूत गरेको थिएँ । तर, अहिले ठीक छु । म टिमलाई सघाउन चाहन्छु । हामी अहिले ला लिगामा राम्रो अवस्थामा छैनौं । तर, हामी प्रयास गरिरहेका छौं । मेरो एक मात्रै अठोट भनेको अहिले पनि टिमलाई उपाधि जिताउन सघाउनु हो । गोल कति गर्छु वा गर्दिनँ भन्ने कुरा मेरा लागि ठूलो कुरा होइन । म गोल नगरी पनि टिमलाई खेल र उपाधि जित्न सघाउन सक्छु । म प्रयास गरिरहेको छु ।

८. तपाईंले भनेजस्तै यो सिजन हाम्रा लागि कठिन भइरहेको छ । गत सिजन पनि यस्तै थियो । तर, यो सिजन हामीले अझै पनि राम्रा दिनहरू ल्याउन सक्छौं । अझैसम्म हामी सबै प्रतियोगिताको उपाधिका लागि खुला छौं । खालि हामीले एकताबद्ध भएर अघि बढ्न र नियमित जित्न थाल्नुपर्छ । यदि हामीले हाम्रो आत्मबल, सोच र शैली बदल्न सकेनौं भने त यस सिजन हाम्रा लागि गत सिजनको भन्दा कठिन बन्न सक्छ । तर, हामी गत सिजनको निराशा यसपटक मेट्न चाहन्छौं । त्यसका लागि हामीले कम्तीमा दुई उपाधि जित्नुपर्छ ।

९. इमानदारीसाथ भन्नुपर्दा म अझै एक च्याम्पियन्स लिग जित्न चाहन्छु । म यसलाई कम्तीमा पाँच बनाउन चाहन्छु । २०१६ मै म यो पूरा गर्न चाहन्थें । तर, २०१५ मा जितेपछि हामी लगातार असफल भइरहेका छौं । मैले फ्यानहरूसँग यो उपाधि फेरि जित्ने बाचा गरेको छु । यो प्रतियोगिता जित्नु सधैं विशेष हुन्छ र त्यत्तिकै कठिन पनि । तर, म आशावादी छु कि हामीले यसपटक यो उपाधि जित्न सक्छौं ।

१०. मलाई के हुँदैछ थाहा छैन । म हामीसँग के छ त्यसमा केन्द्रित गर्दैछु । र, अबको ६ महिनामा के गर्न सकिन्छ भन्नेमा केन्द्रित छ । म वर्ष कसरी अन्त्य हुन्छ भनेर सोच्दिनँ । किनभने, अहिले यो कुरा भन्नु मेरो लागि राम्रो हुनेछैन । म क्लब छाड्छु कि छाड्दिनँ भन्ने मलाई अहिले थाहा छैन । यदि मैले छाडें भने म उत्तम तरिकाले छाड्न चाहान्छु । म केही समयपछि क्लबमा फर्किनेछु । क्लबमा काम गर्न र योगदान दिन म आतुर छु । बार्सिलोना कुनै पनि खेलाडीभन्दा ठूलो छ । निश्चयन नै, मभन्दा पनि माथि छ । र, मलाई आशा छ कि, अब जो अध्यक्ष आउँछ उसले महत्त्वपूर्ण उपाधि फेरि जित्न हामीलाई सहयोग गर्नेछन् ।
०००

प्रकाशित मिति १३ पुष २०७७, सोमबार २०:०४
Loading...