३५ वर्षीय मोड्रिकले रियल मड्रिडसँग सम्झौता लम्ब्याए

काठमाडौं, पुस १२
स्पेनिस क्लब रियल मड्रिडका प्ले मेकर लुका मोड्रिकले क्लबसँग सम्झौता लम्ब्याएका छन् । क्रोएसियन खेलाडीले स्पेनिस जायन्ट रियलमा बस्नका लागि सहमति जनाएका छन् । मोड्रिकको हालको सम्झौता अर्को वर्ष २०२१ को जुन महिनामा सकिँदैछ ।

हालसम्म नयाँ सम्झौतामा हस्ताक्षर भइसकेको छैन । तर, नयाँ सम्झौता भएपछि मोड्रिक सन् २०२२ को जुन ३० सम्म रियलमै रहनेछन् । थप एक वर्ष रियलमा बस्ने पक्का भएसँगै मोड्रिक अब रियलमा १० वर्ष पूरा बस्ने भएका छन् । उनी सन् २०१२ मा इंग्लिस क्लब टोटनह्यामबाट रियलमा पुगेका थिए ।

उमेरले ३५ वर्ष पुगेका मोड्रिकले रियलमा साढे ८ वर्ष बिताइसकेका छन् । यसक्रममा उनले चार च्याम्पियन्स लिगसहित दुई ला लिगा उपाधि जितेका छन् । उनले रियलबाटै युइएफए वर्ष खेलाडी, फिफा वर्ष खेलाडी साथै बालोन डिओर अवार्ड पनि जितेका छन् ।

पछिल्लो समय पनि मोड्रिकले लगातार उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । टोलीलाई अघि बढाउन उनले नेतृत्वदायी प्रदर्शनलाई कायमै राख्न सक्दा र उनको अनुभवले गर्दा पनि रियल उनलाई थप एक सिजन क्लबमै राख्न तयार भएको हो ।

प्रकाशित मिति १२ पुष २०७७, आईतवार १९:४५
Loading...