रियल मड्रिड सिजनकै ‘बेस्ट फर्म’मा फर्कियो : हेरौं तथ्यांक

काठमाडौं, पुस १२
स्पेनिस क्लब रियल मड्रिड केही समयअघिसम्म चर्को आलोचनाको घेरामा थियो । च्याम्पियन्स लिमा ऊ समूह चरणबाटै बाहिरिने खतरामा थियो भने ला लिगामा पनि संघर्ष गरिरहेको थियो । अन्तिमपटक च्याम्पियन्स लिगमा समूह चरणको पाँचौं खेलमा युक्रेनको क्लब शाख्तर डोनेस्ट्कसँग अवे मैदानमा २–० ले हारेपछि रियल संकटमा धकेलिएको थियो ।

सो हारपछि रियलको कम्ता मात्रै आलोचना भएन । प्रशिक्षक जिनेदिन जिदान र खेलाडीमाथि चर्को दबाब बढ्यो । यतिसम्म कि, प्रशिक्षक जिदानको बर्खास्तीको चर्चासम्म चल्यो । शाख्तरसँग हारेपछि रियललाई च्याम्पियन्स लिको अन्तिम १६ मा जान अन्तिम खेलमा जर्मन क्लब मोन्चेङ्लाडवाचलाई हराउनैपर्ने दबाब थियो । अन्ततः शाख्तरसँगको हारपछि रियलले उत्कृष्ट कमब्याक गर्न सफल भयो ।

शाख्तरसँगको हारपछि रियलले चर्को दबाब र आलोचनाबीच ला लिगामा सेभिल्लाको घरमा ०–१ को जित निकाल्यो । त्यहाँबाट रियलको सुखद् पुनरागमन सुरु भएको थियो । सेभिल्लामाथिको साँघुरो जितपछि रियलले त्यसयताका सबै खेलमा शतप्रशित जित निकालेको छ । उसले ६ खेलमा सबै खेलमा जितेको हो ।

यी ६ खेलमा रियलले जसरी कमब्याक गरेको छ, त्यो मजबुत देखिन्छ । किनभने, पछिल्ला ६ खेलमा रियलले १०० प्रतिशत जित मात्रै निकालेको छैन, क्लिन सिट पनि प्रशस्तै राखेको छ । यी ६ खेल खेल्दा रियलले आफूले विपक्षीविरुद्ध कूल १२ गोल गर्दा आफू मात्रै २ गोल मात्रै खाएको छ भने ४ खेलमा त क्लिन सिट नै राखेको छ ।

रियलले पछिल्लोपटक ला लिगामा ग्रनाडाविरुद्ध खेलेको थियो । आफ्नो घरमा रियलले ग्रानाडालाई २–० ले हराउँदै लगातार छैटौं जित दर्ता गरेको थियो । सो जितपछि त रियलका कोच जिदानले आफूहरू अब सिजनकै बेस्ट लयमा फर्किएको प्रतिक्रिया दिएका थिए । ‘हामीले पछिल्ला खेलमा राम्रो खेलेर नतिजा पनि राम्रो निकालेका छौं । लगातार छैटौं जितले हामी सही दिशामा छौं भन्ने देखाउँछ,’ जिदानले भने, ‘मेरो विचारमा रियल मड्रिडकै यतिबेला सिजनकै बेस्ट फर्ममा फर्किएको छ । र, हामी अब यसलाई टुट्न दिनेछैनौं ।’

ला लिगामा रियल हाल १५ खेलपछि ३२ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा छ । शीर्ष टोली एथ्लेटिको मड्रिडसँग रियलको अंक बराबरी छ । तर, एथ्लेटिकोले २ खेल बढी खेलेको छ । रियलले बार्सिलोनालाई ८ अंकले पछि पारेको छ । रियलले अब बुधबार राति वर्ष २०२० को अन्तिम खेल अवे मैदानमा इल्चेसँग खेल्दै छ ।

रियल मड्रिडका पछिल्ला ६ खेलहरू

सेभिल्ला ० – १ रियल मड्रिड
रियल मड्रिड २ – ० मोन्चेङ्लाडवाच
रियल मड्रिड २ – ० एथ्लेटिको मड्रिड
रियल मड्रिड ३ – १ एथ्लेटिक बिल्बाओ
एइबार १ – ३ रियल मड्रिड
रियल मड्रिड २ – ० ग्रनाडा

प्रकाशित मिति १२ पुष २०७७, आईतवार १७:४७
Loading...