मेस्सीले छाने दुई बेस्ट प्रशिक्षकहरू

एजेन्सी, पुस १२
स्पेनिस फुटबल क्लब बार्सिलोनाका कप्तान लिओनल मेस्सीले आफ्ना लागि दुई बेस्ट प्रशिक्षक रोजेका छन् । एक ताजा अन्त्र्वार्तामा कुरा गर्दै अर्जेन्टिनी फरवार्डले आफूलसँगै काम गरेका दुई जना प्रशिक्षकलाई फुटबल इतिहासकै बेस्ट भनेका छन्, जसमा बार्सिलोनाका पूर्वप्रशिक्षकद्वय पेप ग्वार्डिओला र लुइस इनरिके छन् ।

विगतमा मेस्सीले स्पेनिस कोच ग्वार्डिओलासँग बार्सिलोनामा लामो समय सँगै काम गरेका थिए । मेस्सीले ग्वार्डिओला र इनरिके दुवैसँग काम गर्दा ट्रिबेल उपाधि जितेका थिए । खास गरी ग्वार्डिओलासँग मेस्सीको फुटबलको सम्बन्ध जति राम्रो छ, भावनात्मक सम्बन्ध पनि उति नै राम्रो रहेको बताइन्छ । ग्वार्डिओलासँग काम गर्दा मेस्सीले ट्रिबेल उपाधि मात्रै जितेनन्, चार बालोन डिओर अवार्ड पनि जिते ।

अहिले पनि मेस्सी ग्वार्डिओलासँगा फेरि एकपटक काम गर्न इंग्लिस क्लब म्यानचेस्टर सिटी जाने चर्चा छ । यता, ग्वार्डिओला पनि मेस्सीलाई आफ्नो क्लबमा भित्र्याउन प्रयासरत छन् । त्यसो त मेस्सीले इनरिकेसँग काम गर्दा पनि प्रशस्तै जिते । उनले इनरिकेको नेतृत्वमा च्याम्पियन्स लिग, बालोन डिओर, गोल्डेन बुट सबै कुरा जितेका थिए ।

‘पेप केही विशेष छन् । उनले खेलाडीलाई कसरी खेलको तयारी गर्ने, कसरी रक्षा गर्ने र कसरी अट्याक गर्ने भन्ने कुरामा रणनीतिक रूपमा राम्रोसँग सिकाउँछन् । यी कुरामा उनको जस्तो सोच्ने मैले कोही देखेको छैन । उनले खेल कसरी चलिरहेको छ र अब के गर्ने भन्ने कुरा निकै चाँडो पत्ता लगाउँछन् । राम्रो गर्न नसकेका खेलाडीलाई पनि उनले यसरी खेल्नुपर्थ्यो भनेर सिकाउँछन्,’ मेस्सीले भनेका छन्, ‘पेपबाट मैले धेरै कुरा सिकें । सँगै काम गर्दा हामीले धेरै कुरा सँगै जित्यौं । मेरा लागि उनी बेस्ट छन् ।’

त्यसैगरी, मेस्सीले इनरिकेको पनि प्रशंसा गरेका छन् । ‘इनरिकेका धेरै कुरा पेपसँग मिल्छन् । दुवैजना पहिला बल आफूँग राख्ने र अनि मात्रै खेल्न सकिन्छ भन्ने मान्यता राख्छन् । अट्याकिङ फुटबलका लागि पेपभन्दा इनरिकेसँग बेस्ट आइडिया हुन्छ । यी दुईमा केही भिन्नता छन् । मैले मेरो करिअरमा काम गरेमध्ये उनीहरू बेस्ट कोच हुन् ।’

मेस्सीलाई आफूले काम गरेभन्दा बाहिरका बेस्ट प्रशिक्षकको बारेमा पनि सोधियो । जसमा उनले आफ्नो खास प्रतिस्पर्धी रियल मड्रिडका जिनेदिन जिदानलाई रोजे । ‘बेस्ट कोचहरू धेरै छन् । तर, जिनेदिन जिदानप्रति मेरो उच्च सम्मान छ । उनी साँच्चै सफल र प्रभावशाली प्रशिक्षक हुन् । रियल मड्रिडलाई उनले च्याम्पियन्स लिगमा ह्याट्रिक उपाधि जिताए, यो अद्भुत छ । उनी मास्टर क्लास प्रशिक्षक हुन् । मेरो विचारमा उनी रियल मड्रिडका लागि बेस्ट प्रशिक्षक हुन् ।’

प्रकाशित मिति १२ पुष २०७७, आईतवार ११:४६
Loading...