प्रिमियर लिगमा एभर्टनको लगातार चौथो जित : दोस्रो स्थानमा उक्लियो

काठमाडौं, पुस १२
इंग्लिस प्रिमियर लिग फुटबलमा यो सिजन उत्कृष्ट लयमा रहेको एभर्टनले लगातार चौथो जित दर्ता गरेको छ । गत राति भएको लिगको १५औं साताको खेलमा एभर्टनले २०औं स्थानको सेफिल्ड युनाइटेडमाथि उसकै घरेलु मैदानमा ०–१ को कठिन जित निकाल्यो । एभर्टनले पछिल्ला ५ खेलमा एक खेल बराबरी गर्दै लगातार चौथो जित दर्ता गरेको हो ।

निकै प्रतिस्पर्धात्मक खेल ७९औं मिनेटसम्म गोलविहीन अवस्थामा थियो । तर, ८०औं मिनेटमा पाहुना टोली एभर्टनका लागि गिल्फी सिगुर्सनले गोल गरे, जुन टिमलाई जिताउन पर्याप्त बन्यो । गोल खाएपछि घरेलु टोली सेफिल्ड खेलमा फर्किन सकेन । र, खेल एभर्टनले ०–१ ले जित्यो ।

अब यो जितपछि एभर्टन १५ खेलबाट २९ अंक बनाएर अंक तालिकाको दोस्रो स्थानमा चढेको छ । ऊ लिग लिडर लिभरपुलभन्दा एक खेल बढी खेलेर २ अंकले पछि छ । पराजित सेफिल्ड अझै पनि लिगमा जितविहीन छ । उसले १५ खेल खेल्दा १३ खेल हारेर २ खेल बराबरी गर्दै मात्रै २ अंक जोडेर २०औं स्थानमा छ ।

प्रकाशित मिति १२ पुष २०७७, आईतवार ०९:२१
Loading...