पोचेटिनो पिएसजीको प्रशिक्षक बन्दै : नेइमार र मेस्सीलाई एक बनाउने योजना !

एजेन्सी, पुस ११
इंग्लिस क्लब टोटनह्यामका पूर्वप्रशिक्षक मोउरिसियो पोचेटिनो फ्रेन्च क्लब पिएसजी जाने करिब–करिब पक्का भएको छ । अन्तर्राष्ट्रिय मिडियाका अनुसार पिएसजी उनलाई भित्र्याउन सहमति नजिक पुगेको छ । केही दिनमै पिएसजीले अर्जेन्टिनी म्यानेजर अनुबन्धको घोषणा गर्ने सम्भावना छ ।

दुई दिनअघि मात्रै पिएसजीले प्रशिक्षक थोमस टुचेललाई पदबाट बर्खास्त गरेको थियो । उनको बर्खास्तीपछि पिएसजी नयाँ प्रशिक्षकको पर्खाइमा छ । अब नयाँ वर्ष २०२१ का खेल सुरु हुनुअघि नै क्लबले नयाँ प्रशिक्षक अनुबन्ध गरिसक्ने तयारी गरेको छ ।

रिपोर्टअनुसार पोचेटिनो पिएसजी जाने सम्भावना बढेसँगै स्पेनिस बार्सिलोनाका सुपरस्टार लिओनल मेस्सीलाई पिएसजीले भित्र्याउने व्यापक तयारी गरेको छ । पोचेटिनो पिएसजीको प्रशिक्षक बने उनले आफ्नै देशका मेस्सीलाई पिएसजीमा लैजान प्रयास गर्नेछन् ।

मेस्सीले यो सिजनको अन्त्यसँगै फ्री ट्रान्सफरमा बार्सिलोना छाड्न पाउनेछन् । र, उनले अब क्लब छाड्ने करिब–करिब पक्का छ । अर्जेन्टिनाका चर्चित मिडियाले पनि पोचेटिनो पिएसजीको प्रशिक्षक बनेको अवस्थामा मेस्सीको पिएसजी सरुवा सम्भावना बढ्ने जनाएका छन् । पोचेटिनाले पिएसजीमा ब्राजिलियन नेइमार र मेस्सीलाई एक बनाउन सबैखाले प्रयास गर्नेछन् । नेइमार र मेस्सी आफैं पनि फेरि एकपटक एकसाथ खेल्न चाहेकाले पिएसजीमा त्यो पूरा हुन सम्भावना रहेको चर्चा हुन थालेको छ ।

प्रकाशित मिति ११ पुष २०७७, शनिबार १८:४५
Loading...