२०२० लाई बिदा गर्दै रोनाल्डोले फ्यानहरूका नाममा दिए यस्तो सन्देश

एजेन्सी, पुस १०
इटालियन क्लब युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोले आफ्ना समर्थकहरूलाई सन्देश दिँदै आफूहरूमाथि विश्वास गर्न अनुरोध गरेका छन् । साथै, उनले आफ्ना सहकर्मीहरूलाई पनि हारपछि आगामी दिनहरूमा थप बलियो भएर आउन एकतबद्ध हुन अपिल गरेका छन् । गत मंगलबार सिरी ए लिगमा वर्ष २०२० को अन्तिम खेलमा आफ्नै घरेलु मैदानमा फियोरेन्टिनासँग ०–३ ले हारेपछि रोनाल्डोले सामाजिक सन्जाल इन्स्टाग्राममार्फत् यस्तो सन्देश दिएका हुन् ।

२०२० को अन्तिम खेल युभेन्टसका लागि खराब रह्यो । टिम आफ्नै मैदानमा ०–३ ले पराजित हुँदा टिम अंक तालिकामा ठूलो झट्का लाग्यो । तर, रोनाल्डोेले आफूहरू नयाँ वर्ष २०२१ मा नयाँ जोश र अठोटका साथ मैदान फर्किने बताएका छन् । उनले समर्थकहरूलाई निराश नहुन अनुरोध खेलाडीको मनोबल बढाउन अनुरोध गरेका छन् । साथै, उनले आफूहरूले उपाधि जितेर समर्थकहरूलाई खुसी बाँड्ने बाचा पनि गरेका छन् । यस्तो छ उनको सन्देश–

‘हिजो कमजोर प्रदर्शनका कारण हामीले सोचेजस्तो नतिजा आएन । अब २०२० का खेलहरू सकिएका छन् । यो वर्ष विभिन्न कारणले कठिन भयो । खाली रंगशाला, कोभिड–१९ को प्रोटोकल, लामो समय खेल गतिविधि बन्द हुनु आदि कारणले यस वर्षलाई कठिन बनायो ।’

‘तर, यो बहानाले हामीलाई कुनै पनि कुराका लागि छुट दिँदैन । हामीलाई थाहा छ कि हामीले अझै बढी दिनुपर्छ । अझै राम्रो खेल्नका लागि र निरन्तर जित्नका लागि । हामी युभेन्टस हौं । र, हामीले मैदानमा उत्कृष्टता भन्दा कम केही पनि स्वीकार गर्न सक्दैनौं ।’

‘म आशा गर्दछु कि यो छोटो बिदाले हामीलाई पहिलाभन्दा अझै बलियो र एकजुट हुन मदत गर्नेछ । किनभने, सिजन अझै धेरै लामो छ । र, अन्त्यमा हामी विश्वास गर्छौं कि हामी फेरि विजयी उत्सव मनाउनेछौं ।’

‘हामीलाई विश्वास गर्नुहोस्, हाम्रो टिमलाई विश्वास गर्नुहोस्, जस्तो हामी तपाईंहरूलाई विश्वास गर्छौं । र, हामी डेलिभर गर्नेछौं ।’

***

प्रकाशित मिति १० पुष २०७७, शुक्रबार १८:४०
Loading...