रिभाल्डोले कोम्यानलाई भने– ‘ठूला उपाधि जित्ने भए तत्कालै यी चार काम गर’

एजेन्सी, पुस १०
स्पेनिस फुटबल क्लब बार्सिलोना जारी सिजन संघर्ष गरिरहेको छ । ऊ ठीकठाक च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरे पनि घरेलु ला लिगामा कमजोर स्थितिमा छ । ताजा स्थितिमा बार्सिलोना १४ खेल सकिँदा लिग लिडर एथ्लेटिको मड्रिडभन्दा ८ अंकले पछि छ ।

यसैबीच, क्लब बार्सिलोना तथा ब्राजिलका लिजेन्ड खेलाडी रिभाल्डोले प्रशिक्षक रोनाल्ड कोम्यानलाई ठूला उपाधि जित्ने भए केही महत्त्वपूर्ण काम गर्न सुझाव दिएका छन् । ‘मार्सा’सँगको अन्तर्वार्ताक्रममा रिभाल्डोले च्याम्पियनस लिग र ला लिगा जित्न कोम्यानले हालको स्थितिमा तत्कालै केही परिवर्तन गर्नुपर्ने बताएका छन् ।

पहिलो सुझाव– स्वारेजको प्रतिस्थापनमा तत्कालै भरपर्दा खेलाडी भित्र्याउनुपर्ने । बार्सिलोनाले ९ नम्बर पोजिसनबाट खेल्न तत्कालै भरपर्दा फरवार्ड ल्याउनुपर्ने सुझाव रिभाल्डोले दिएका छन् । ‘मैले यतिबेला बार्सिलोनामा स्वारेजको प्रतिस्थापनमा भरपर्दा खेलाडीको टड्कारो आवश्यकता देखेको छु । जनवरीमै नयाँ खेलाडी ल्याइएन भने थप समस्या बढ्नेछ । सायद कोम्यानले यसबारे सोचिरहेका छन् । मैले सुनेअनुसार उनले नेदरल्यान्ड्सका मेम्फिस डिपे ल्याउन चाहन्छन् । तर, म त उनलाई अर्जेन्टिनाका लौटारो मार्टिनेज ल्याउन सुझाव दिन्छु । किनभने, उनी युवा छन् ।’

दोस्रो सुझाव– पियानिचलाई सक्दो धेरै खेलाऊ । रिभाल्डोले कोम्यानलाई नयाँ मिडफिल्डर मिरालेम पियानिचलाई पहिलो रोजाइमा राखेर ९० मिनेट खेलाउन भनेका छन् । ‘पियानिच विश्वस्तरका प्लेमेकर हुन् । उनको पछिल्लो खेल मैले हेरें । उनी साँच्चै गुणस्तरीय खेलाडी हुन् । तर, कोम्यानले उनलाई विश्वास गरेका छैनन् । यदि उनलाई पहिलो रोजाइमा खेलाइयो भने उनले गोल संख्या बढाउन मदत गर्छन् । यदि म कोम्यानको ठाउँमा थिए भने कोउटिन्हो, डे जोङ र पियानिचलाई पहिलो रोजाइमा राख्छु । यो त्यहाँको सबसे बेस्ट मिडफिल्ड सेट हो ।’

तेस्रो सुझाव– मेस्सीमाथिको निर्भरता घटाउँदै जाऊ । रिभाल्डोले कोम्यालाई अब कप्तान लिओनल मेस्सीमाथिको निर्भरता कम गर्दै लैजान भनेका छन् । मेस्सीको बढ्दो उमेरका कारण उनलाई त्यसैअनुसार भूमिका दिन र योजना बनाउन रिभाल्डोले भनेका छन् । रिभाल्डोले भनेका छन्–

‘मेस्सी अझै पनि त्यहाँका सबैभन्दा प्रमुख खेलाडी हुन् । उनी यो सिजन संघर्ष गरिरहेका छन् । यसका पछाडि केही कारण छन् । तर, उनले अझै पनि टिमलाई योगदान दिन सक्छन् । अहिले पनि कुनै खेलाडीले त्यहाँ टिमका लागि फरक गर्न सक्छ भने उनी मेस्सी नै हुन् । तर, अब प्रशिक्षकले उनीमाथिको निर्भरता कम गर्दै लैजानुपर्छ । मेस्सी मैदानमा नहुँदा र उनले राम्रो खेल्न नसकेका बेला पनि टिमले राम्रो खेलेर जित्न सक्ने टिम बनाउनु आवश्यक छ । अब बार्सिलोना मेस्सीबिना पनि उपाध जित्न तयार हुनुपर्छ । टोलीमा भएका अन्य खेलाडीबाटै यो विकल्प दिन सकिन्छ ।’

चौथो सुझाव – मेस्सीको हेरचाहमा विशेष ध्यान देऊ । रिभाल्डोले जारी सिजन बार्सिलोना ला लिगा वा अन्य कुनै उपाधि जित्न चाहन्छ वा टिम फेरि पनि उपाधिविहीन बन्नबाट जोगिन चाहन्छ भने मेस्सीको हेरचाहमा विशेष ध्यान दिनुपर्ने रिभाल्डो बताउँछन् । उनल भनेका छन्– ‘अहिले मेस्सी विभिन्न हिसाबले समस्यामा छन् । यसको असर मैदानमा र उनको व्यक्तिगत प्रदर्शनमा पनि देखिएको छ । यस्तो बेला उनलाई सामान्य अवस्थामा फर्काउन र उत्कृष्ट प्रदर्शनका लागि उनको हेरचाहमा प्रशिक्षकले विशेष ध्यान दिनुपर्छ । मेस्सीमाथि बढ्न दिनुहुँदैन र उनलाई आलोचनामुक्त राख्नुपर्छ । किनभने, मेस्सी दबाब र आलोचना खेप्न सक्दैनन् । तब मात्रै उनले आफ्नो स्तरको प्रदर्शन गर्न सक्छन् ।’

प्रकाशित मिति १० पुष २०७७, शुक्रबार १७:०१
Loading...