हामी बार्सिलोनालाई ला लिगा जित्न दिँदैनौं : कासेमिरो

एजेन्सी, पुस १०
स्पेनिस क्लब रियल मड्रिड घरेलु लिग ला लिगामा यो सिजन उत्कृष्ट अवस्थामा छैन । तर, खराब स्थितिमा पनि छैन । वर्ष २०२० को अन्तिम एक खेल बाँकी छँदा रियल १५ खेलपछि ३२ अंक बनाएर अंक तालिकाको दोस्रो स्थानमा छ । दुई खेल बढी खेलेको एथ्लेटिको मड्रिड समान ३२ नै अंक बनाएर शीर्ष स्थानमा छ । यदि एथ्लेटिकोले बाँकी दुई खेल पनि जिते समान खेलपछि रियल एथ्लेटिकोसँग ६ अंकले पछि पर्नेछ ।

जारी सिजन रियलले १५ खेल सकिँदा १० खेल जितेर २ खेल बराबरी गरेको छ भने ३ खेल हारेको छ । उसले पछिल्लोपटक घरेलु मैदानमा ग्रानाडालाई २–० ले हराएपछि उसले लिग लिडर एथ्लेटिकोसँग अंक बराबरी गरेको थियो । हालको स्थितिमा रियल बार्सिलोनाभन्दा एक खेल बढी खेलेको अवस्थामा ८ अंकले अघि छ ।

अघिल्लो दिन ला रियलले ग्रानाडालाई २–० ले हराएपछि ब्राजिलियन मिडफिल्डर कासेमिरोले चुनौतीपूर्ण भाषामा ला लिगा बार्सिलोनालाई जित्न आफूहरूले नदिने बताएका छन् । यो सिजन उत्कृष्ट फर्र्ममा रहेका उनले ग्रानाडाविरुद्ध १ शानदार गोल गरेका थिए । खेलपछि मिडियासँग कुरा गर्दै उनले रियल अब स्पष्ट रूपमा लिग जित्ने दिशामा अघि बढेको मात्रै बताएनन्, उनले बार्सिलोनालाई आफूहरूले रोक्ने र एथ्लेटिकोलाई उछिन्ने पनि बताए ।

‘यो हाम्रो लगातार पाँचौं जित हो । यी खेलमा हामीले राम्रो गरेका छौं । हामी अब उत्कृष्ट लयमा फर्कियौं भन्ने हामीलाई लागेको छ । हामी लिगमा एकदमै सही दिशामा छौं,’ कासेमिरोले भने, ‘ग्रानाडाविरुद्ध हामीले सिजनकै एक उत्कृष्ट खेल खेल्यौं । यो जितबाट हामी सबै खुसी छौं । र, हामी यो लयलाई अन्तिमसम्म नै कायम राख्न चाहन्छौं ।’

बार्सिलोनासँगको प्रतिस्पर्धाबारे कासेमिरोले भनेका छन्, ‘हामी उनीहरूलाई लिग जित्नका लागि छाड्न सक्दैनौं । किनभने, हामी सबै उपाधि जित्न चाहन्छौं । र, त्यसका लागि तयार छौं । लिग जित्नु सधैं महत्त्वपूर्ण हुन्छ । हामी यसपटक पनि ला लिगा जित्छौं । मेरो विचारमा बार्सिलोना बिस्तारै उपाधि होडमा आउनेछ । तर, हामी उनीहरूलाई रोक्छौं ।’

एथ्लेटिकोलाई रियलले आगामी केही खेलबाटै पछि पार्ने कासेमिरोले बताए । ‘उनीहरूले अझै दुई खेल खेल्नेछन् । यदि दुवै जिते भने हामीभन्दा उनीहरू ६ अंकले अघि हुनेछन् । तर, यो ठूलो अन्तर होइन । किनभने, लिगमा अझै थुप्रै खेल बाँकी छन् । हामीले अझै एक मड्रिड डर्बी खेल्नेछौं । मलाई विश्वास छ, हामी उनीहरूलाई उछिनेर चाँडै शीर्ष स्थानमा जानेछौं ।’

ब्राजिलियन खेलाडी कासेमिरोले जारी सिजन ला लिगामा ३ गोल र २ असिस्ट गरेका छन् । उनले गरेका ३ मध्ये २ गोल लामो दूरीबाट शक्तिशाली प्रहारमा गरेका छन् भने १ गोल हेडिङमार्फत् गरेका छन् । उनी प्रशिक्षक जिनेदिन जिदानका एक प्रमुख खेलाडी हुन् ।

प्रकाशित मिति १० पुष २०७७, शुक्रबार ०९:५७
Loading...