‘बार्सिलोनाले हल्यान्ड भित्र्याउनुपर्छ, रियल मड्रिड गए आफैंलाई खतरा’

एजेन्सी, पुस ९
जर्मन क्लब बोरुयिा डर्टमुन्डका युवा स्टार अर्लिङ हल्यान्ड अहिले युरोपियन फुटबलमा ‘हट केक’ हुन् । अस्ट्रियन क्लब रेड बुल साल्जवर्गबाट अचानक डर्टमुन्ड पुगेका नर्वेका गोल मेसिन खेलाडीलाई अहिले त्यहाँबाट उछिट्याउन युरोपका अन्य ठूला क्लबहरू दाउ छोपिरहेका छन् ।

वर्ष २०२० को गोल्डेन ब्वाई अवार्ड समेत जितेका २० वर्षीय हल्यान्डले अहिले आफ्नो उमेरमा जे–जति गरिरहेका छन्, त्यो आफ्नो समयमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका लिओनल मेस्सीले गरेभन्दा निकै शानदार छ । हल्यान्डको यस वर्षको व्यक्तिगत तथ्यांक हेर्दा पनि उनलाई भित्र्याउन युरोपका धनी र ठूला क्लबहरू प्रतिस्पर्धामा होमिने पक्का छ । निकट भविष्यमा हल्यान्डलाई स्पेनिस क्लब रियल मड्रिडले भित्र्याउन सक्ने चर्चा छ ।

तर, बार्सिलोनाका पूर्वकप्तान तथा लिजेन्ड खेलाडी कार्लेस पुयोलले भने बार्सिलोनालाई हल्यान्ड कुनै पनि मूल्यमा भित्र्याउन सुझाव दिएका छन् । यदि बार्सिलोनालाई भविष्यको चिन्ता छ भने यो समयका नम्बर वान गोल मेसिन हल्यान्ड भित्र्याउन सबथोक छाडेर लाग्नुपर्ने पुयोल बताउँछन् ।

स्पेनको पत्रिका ‘एएस’सँग कुरा गर्दै पुयोलले बार्सिलोनाले हल्यान्ड भित्र्याउन सके उनले भविष्यमा मेस्सीको अभाव टार्ने बताएका छन् । ‘बार्सिलोनामा अहिले निकै प्रतिभावान् युवा खेलाडीहरू छन् । ला मासियामा पनि युवा खेलाडी तयार हुँदैछन् । अहिले सिनियर टोलीमा अन्सु फाती, रिकी पुचलायत प्रतिभाशाली खेलाडी छन् । मैले उनीहरूको विशाल भविष्य देखेको छु,’ पुयोलले भनेका छन्, ‘तर, बार्सिलोनाले यदि बाहिरबाट कुनै खेलाडी भित्र्याउन आवश्यक छ भने ती अर्लिङ हल्यान्ड हुन् । किनभने, उनी यस समयका नम्बर वान युवा खेलाडी हुन् ।’

पुयोलले बार्सिलोनामा मेस्सीले गर्दै आएको गोलको अभाव हुन नदिन हल्यान्ड सबैभन्दा राम्रो विकल्प रहेको बताए । ‘मेस्सीको स्थान बार्सिलोना मात्रै नभएर विश्वमै कसैले लिन सक्दैन । तर, मेस्सीको करिअरपछि बार्सिलोनामा उनको अभाव टार्न यदि कुनै खेलाडीले सक्छ भने उनी हल्यान्ड हुन् । उनी गोलका लागि जन्मिएका खेलाडी हुन्, जो भर्खर २० वर्षका छन्,’ पुयोलले भने, ‘मलाई लाग्छ, बार्सिलोनाले उनलाई भित्र्याउन सबैथोक छाडेर लाग्नुपर्छ । उनी बार्सिलोनालाई चाहिने खेलाडी हुन् ।’

पुयोलले हल्यान्डलाई रियल मड्रिडले भन्दा पहिलो बार्सिलोनाले भित्र्याउनुपर्ने बताएका छन् । ‘हल्यान्डजस्ता खेलाडी रियल मड्रिडले अनुबन्ध गर्नु बार्सिलोनाका लागि ठूलो चुनौती हो । त्यसैले उनका लागि रियल मड्रिडभन्दा पहिला बार्सिलोनाले तयारी थाल्नुपर्छ,’ पुयोलले भने ।

अर्को प्रसंगमा पुयोलले दाबी गरेका छन् कि, मेस्सीले बार्सिलोनामै करिअर अन्त्य गर्न सक्छन् । तर, त्यसका लागि बार्सिलोनाले उपाधि जितिराख्नुपर्छ । ‘मेस्सीको अवस्था मैले बुझेको छु । तर, मलाई विश्वास छ कि यदि बार्सिलोनाले उपाधि जितिरह्यो भने मेस्सीले यहींबाट करिअर अन्त्य गर्नेछन् । मेस्सी यहाँ रहेर जितिरहन चाहन्छन्,’ पुयोलले थपे ।

प्रकाशित मिति ९ पुष २०७७, बिहीबार २१:३८
Loading...