एसी मिलानद्वारा बार्सिलोनाको ७२ वर्ष पुरानो दुर्लभ रेकर्ड बराबरी

एजेन्सी, पुस ९
इटालियन क्लब एसी मिलान युरोपियन टप–५ लिगमा स्पेनिस क्लब बार्सिलोनाले बनाएको ७२ वर्ष पुरानो एक दुर्लभ रेकर्ड बराबरी गरेको छ । यो सिजन उत्कृष्ट लयमा रहेको मिलान यहाँसम्म आइपुग्दा पनि घरेलु लिग ‘सिरी ए’ मा अपराजित नै रहेको छ । गत राति लिगमा उसले १४औं साताको खेलमा आफ्नो घरेलु मैदानमा लाजियोलाई रोमाञ्चक अवस्थाबाट ३–२ ले हरायो ।

लाजियोविरुद्ध ३ गोल गरेर जितेसँगै एसी मिलान अब सन् १९४८ पछि युरोपियन लिगमा एक वर्षभित्रमा एकै प्रतियोगितामा लगातार १५ खेलसम्म २ वा सोभन्दा बढी गोल गर्ने पहिलो टिम बनेको छ । साथै, समग्रमा शीर्ष लिगको इतिहासमा हालसम्म एकै प्रतियोगितामा सिंगल क्यालेन्डर इयरमा लगातार १५ खेलसम्म २ भन्दा बढी गोल गर्ने दोस्रो टिम बनेको छ ।

यस्तो दुर्लभ रेकर्ड यसअघि सन् १९४८ मा बार्सिलोनाले बनाएको थियो । बार्सिलोनाले त्यसबेला सन् १९४८ सालमा ला लिगामा लगातार १५ खेलसम्म २ भन्दा बढी गोल गरेर रेकर्ड बनाएको थियो, जुन आजसम्म दुर्लभ रेकर्डका रूपमा रहेको थियो । हालको ताजा स्थितिमा एकै प्रतियोगितामा एक वर्षभित्रमा लगातारका १५ खेलसम्म २ वा सोभन्दा बढी गोल गर्ने टिमको रेकर्ड बार्सिलोना र एसी मिलानको नाममा रहेको छ ।

एसी मिलानले सो रेकर्ड आगामी खेलबाट तोड्ने अवसर थियो । तर, उसले २०२० भित्रमा खेल्ने सबै लिग खेल सिद्धिसकेकाले मिलानल बार्सिलोनाको रेकर्ड भंग गर्न भने पाएन । जारी सिजन एसी मिलान सिरी ए लिगमा अपराजित रहँदा उसले १० खेल जितेको छ भने ४ खेल बराबरी गरेको छ । उसले आजसम्म कुनै खेल हारेको छैन । एसी मिलानले २०२० मा खेलेका पछिल्ला १५ खेलमा लगातार २ वा सोभन्दा बढी गोल गर्दै आएको थियो । मिलान यस सिजन सिरी ए लिग जित्ने दिशामा अघि बढिरहेको छ ।

प्रकाशित मिति ९ पुष २०७७, बिहीबार १८:१०
Loading...