यी दुई कारणले गर्दा बार्सिलोनाले जनवरीमै कोउटिन्हो बेच्दै छ

एजेन्सी, पुस ९
स्पेनिस फुटबल क्लब बार्सिलोनाले आफ्ना ब्राजिलियन मिडफिल्डर फिलिपे कोउटिन्होलाई सकेसम्म चाँडो बेच्ने तयारी गरेको छ । क्लबमा आर्थिक संकट बढेकाले मोटो तलब लिने खेलाडीमध्ये कोटिन्होलाई बार्सिलोनाले यही जनवरी विन्डोमा बेच्ने तयारी गरेको स्पेनिस मिडियाले ताजा रिपोर्टमा जनाएका छन् । प्रशिक्षक रोनाल्ड कोम्यान कोउटिन्होलाई टोलीमै राख्ने र प्रमुख भूमिका दिन तयार रहे पनि क्लबले आर्थिक समस्या व्यवस्थापन गर्न उनको बिदाइ गर्ने तयारी थालेको हो ।

ब्राजिलियन प्लेमेकरलाई बार्सिलोनाले सन् २०१८ मा १४५ मिलियन पाउज्डमा भित्र्याएको थियो । उनी गत समर सिजनमा मात्रै जर्मन क्लब बार्यन म्युनिखबाट लोन अवधि पूरा गरेर बार्सिलोना फर्किएका थिए । कोउटिन्हो बासिलोनामा महँगो तलब लिनेमा कप्तान मेस्सी र एन्टोनी ग्रीजम्यानपछिका तेस्रो खेलाडी हुन् ।

बार्सिलोनाले खास गरी दुई कारणले कोउटिन्हो बेच्ने तयारी गरेको छ । पहिलो– लिभरपुललाई तिर्नुपर्ने १८ मिलियन पाउन्डबाट बच्न । यदि कोउटिन्होले अब १० अफिसियल खेल खेले बार्सिलोनाले इंग्लिस क्लब लिभरपुललाई १८ मिलियन पाउन्ड बोनस रकम तिर्नुपर्ने सर्त छ । उनले हालसम्म क्याटलान क्लबका लागि ९० अफिसियल खेल खेलिसकेका छन् । कोउटिन्होबाट उच्च प्रदर्शन नभइरहेका बेला र लिभरपुललाई तिर्नुपर्ने १८ मिलियनबाट बच्न पनि बार्सिलोना उनलाई बेच्न चाहन्छ । तसर्थ बार्सिलोना जनवरीमै उनलाई बिदा गर्न चाहन्छ ।

दोस्रो कारण– बार्यनबाट फर्केपछि कोउटिन्होले यो सिजन हालसम्म ११ खेल खेल्दै ३ गोल गरेका छन् । तर, बार्सिलोना उनको प्रदर्शनबाट खुसी छैन । क्लबका युवा स्टार अन्सु फाती चोटमुक्त भएर आएपछि कोउटिन्होलाई समय पाउन कठिन पर्ने नै छ । यसबाहेक अहिले अर्का युवा स्टार पेड्रीले उच्च प्रदर्शन गर्दै पहिलो रोजाइमा स्थान लिन थालेपछि कोउटिन्होको भविष्य संकटमा परेको देखिन्छ । कम खर्चका युवा खेलाडीले नै उच्च प्रदर्शन दिन थालेपछि बार्सिलोना अब कोउटिन्होलाई राख्ने पक्षमा देखिँदैन ।

प्रकाशित मिति ९ पुष २०७७, बिहीबार १५:०२
Loading...