२०औं स्थानको टिमसँग नापोली हारबाट मुस्किलले बच्यो

काठमाडौं, पुस ९
इटालियन सिरी ए लिग फुटबलमा नापोली हारबाट मुस्किलले बचेको छ । गत राति भएको लिगको १३औं साताको खेलमा नापोली आफ्नै घरेलु मैदानमा पाहुना टोली टोरिनोसँग इन्जुरी समयमा गोल गर्दै १–१ को नतिजाका साथ हारबाट बचेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा पाहुना टोली टोरिनोले खेलको ५६औं मिनेटमा गोल गरेर पहिला अग्रता लियोका थियो । सो गोल अर्मान्डो एल्जोले गरेका थिए । टोरिनो सोही अग्रता बचाएर जितनजिक पुगेको थियो । तर, इन्जुरी समयमा नापोली खेलमा फर्कियो ।

९० मिनेटपछि थप भएको समयको दोस्रो मिनेटमा नापोलीका लागि फरवार्ड लोरेन्जो इन्सिग्नेले गोल गरेपछि नापोली हारबाट बच्यो । र, घरेलु मैदानमा खेल १–१ को बराबरीमा टुंगायो । अब यो नतिजासँगै नापोली १३ खेलपछि २५ अंक बनाएर पाँचौं स्थानमा छ । टोरिनो १४ खेलपछि ८ अंकका साथ २०औं स्थानमा छ ।

प्रकाशित मिति ९ पुष २०७७, बिहीबार ०९:५०
Loading...