पिएसजीको फराकिलो जित : २०२० सकिँदा लिगको तेस्रो स्थानमा

काठमाडौं, पुस ९
फ्रेन्च लिग वान फुटबल प्रतियोगितामा साबिक विजेता पिएसजीले वर्ष २०२० को अन्तिम खेलमा प्रभावशाली जित निकालेको छ । गत राति भएको खेलमा पिएसजीले आफ्नो घरेलु मैदानमा स्ट्राजवर्गविरुद्ध ४–० अन्तरको जित निकालेको हो ।

घरेलु मैदानमा पिएसजीलाई जिताउन ४ जना फरक–फरक खेलाडीले गोल गरे । खेलको १८औं मिनेटमा टिमोथी पेम्बेलेले पहिलो गोल गरेका थिए । त्यसपछि पिएसजीलाई दोस्रो गोल गर्न खेलको ७९औं मिनेटसम्म संघर्ष गर्नुपरेको थियो । सो गोल एमबाप्पेले गरेका थिए ।

त्यसपछि खेलको ८८औं मिनेटमा इड्रिशा गुएले गोल गरेर पिएसजीलाई सुविधाजनक जिततर्फ अघि बढाए । फेरि खेलको इन्जुरी समयमा युवा स्टार मोइसे किनले गोल गरेपछि खेल पिएसजीले ४–० ले जित्यो ।

अब यो जितपछि पिएसजीले लिगका १७ खेल सकिँदा ३५ अंक बनाएको छ । ऊ तेस्रो स्थानमा छ । समान खेल खेलेको लिले ३६ अंकसहित शीर्ष स्थानमा रहँदा ३६ नै अंक भएको लियोन दोस्रो स्थानमा छ । गत सिजनको च्याम्पियन पिएसजी वर्ष २०२० सकिँदा अंक तालिकाको तेस्रो स्थान मात्रै रहेको छ । उसले यो सिजन १७ खेलमध्ये ११ खेल मात्रै जितेर २ खेल बराबरी गर्दा ४ खेल हारेको छ ।

प्रकाशित मिति ९ पुष २०७७, बिहीबार ०९:३३
Loading...