लाजियोमाथि एसी मिलानको रोमाञ्चक जित : शीर्ष स्थानमा कब्जा !

काठमाडौं, पुस ९
इटालियन सिरी ए लिग फुटबल प्रतियोगितामा यो सिजन उत्कृष्ट लयमा रहेको एसी मिलानले बलियो टोली लाजियोमाथि रोमाञ्चक जित निकालेको छ । गत राति भएको लिगको १४औं साताको खेलमा मिलानले पाहुना टोली लाजियोमाथि अन्तिम समयमा गोल गर्दै ३–२ को रोमाञ्चक जित निकाल्न सफल भयो ।

आफ्नो घरमा मिलानले खेलको १७औं मिनेटमा पुग्दा २–० को अग्रता बनाए पछि त्यसपछि लाजियोले ५९औं मिनेटमा पुग्दा २ गोल गर्दै खेल २–२ बनाएको थियो । तर, निर्धारित ९० मिनेटपछि थपिएको समयको दोस्रो मिनेटमा मिलानका लागि थियो हर्नान्डेजले हेडिङमार्फत् सुन्दर गोल गरेपछि खेल मिलानले ३–२ ले जित्यो ।

मिलानको घरेलु मैदानमा खेलको १०औं मिनेटमा एन्टे रेबिचले पहिलो गोल गरेका थिए । त्यसपछि खेलको १७औं मिनेटमा मिलानले पेनाल्टी पायो, जसमा हाकान कालाहाङ्गोलुले गोल गर्दै लाजियोलाई २–० ले पछि पारेका थिए ।

तर, पाहिुना टोलीले त्यसपछि खेलमा कमब्याक गर्न सफल भयो । २७औं मिनेटमा लुइस अल्वेर्टोले गोल गर्दै खेल २–१ बनाए । त्यसपछि थप आक्रामक बनेको खेलमा लाजियोका लागि खेलको ५९औं मिनेटमा सिरो इम्मोबिलेले गोल गर्दै खेल २–२ बनाए । उनले लामो पासमा आएको बललाई भली प्रहारमा पोस्टको दिशा दिएका थिए ।

सो गोलपछि खेल बराबरी नजिक पुगेको थियो । तर, थियो हर्नान्डेजले इन्जुरी समयको अन्तिम मुभमा हेडिङमार्फत् उत्कृष्ट गोल गर्दै मिलानको ३–२ को जित पक्का गरे । अब यो जितपछि मिलानले १४ खेलबाट ३४ अंक बनाएर शीर्ष स्थानमा छ । ३३ अंक भएको इन्टर मिलान दोस्रो स्थानमा छ । यता, पराजित लाजियो १४ खेलपछि २२ अंक बनाएर आठौं स्थानमा छ ।

यो जितसँगै मिलानले लिगको शीर्ष स्थानमा कब्जा जमाएको छ । उसले दोस्रो स्थानको इन्टरसँग १ र साबिक विजेता युभेन्टसलाई १० अंकले पछि छाडेको छ । तर, युभेन्टसले एक खेल कम खेलेको छ । एसी मिलानले वर्ष २०२० लिग लिडर भूमिकामा अन्त्य गरेको छ, जुन उसलाई उपाधि होडमा अघि बढ्न बलियो आधार हुनेछ ।

प्रकाशित मिति ९ पुष २०७७, बिहीबार ०३:४४
Loading...