ला लिगामा रियल मड्रिडको लगातार पाँचौं जित : शीर्ष स्थानमा अंक बराबरी

काठमाडौं, पुस ९
स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा रियल मड्रिडले लगातार पाँचौं जित निकालेको छ । नेपाली समयअनुसार बिहीबार बिहान भएको लिगको १५औं साताको खेलमा रियलले पाहुना टोली ग्रानाडामाथि २–० को जित निकालेको हो । यससँगै रियलले पछिल्ला ५ खेलमा सबै खेल जित्न सफल भएको छ ।

जितको चर्को दबाब लिएर मैदान उत्रिएको रियललाई जिताउन ब्राजिलियन मिडफिल्डर कासेमिरो र फ्रेन्च फरवार्ड करिम बेन्जेमाले गोल गरे । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित ०–० मा सकिएको थियो । अल्फ्रेडो डे स्टेफानो रंगशालामा रियलले खेलमा पकड जमाएर खेले पनि गोलका लागि ५७औं मिनेटसम्म लड्नु परेको थियो, जहाँ कासेमिरोले हेडिङमार्फत् दर्शनीय गोल गर्दै टिमलाई १–० को अग्रता दिलाए । सब्सिच्युट खेलाडी मार्को एसेन्सियाले दिएको निकै कठिन पासमा कासेमिरोले आकर्षक फिनिसिङमा गोल गरेका थिए ।

त्यसपछि निर्धारित ९० मिनेटपछि थप समयमा बेन्जेमाले इस्कोको पासमा गोल गरेपछि खेल रियलले २–० ले जित्यो । अब यो जितपछि रियलले १५ खेलबाट ३२ अंक जोडेको छ । उसले शीर्ष स्थानको एथ्लेटिको मड्रिडसँग अंक बराबरी गरेको छ । तर, एथ्लेटिकोले दुई खेल कम खेलेको छ । यता, पराजित ग्रनाडा १४ खेलपछि २१ अंकसहित सातौं स्थानमा छ ।

प्रकाशित मिति ९ पुष २०७७, बिहीबार ०२:२५
Loading...