कठिन जित निकाल्दै इन्टर मिलान सिरी ए लिगको शीर्ष स्थानमा

काठमाडौं, पुस ८
इटालियन सिरी ए लिगमा यो सिजन उपाधि होडमा रहेको इन्टर मिलानले लिगको १४औं साताको खेलमा कठिन जित निकालेको छ । बुधबार राति भएको खेलमा मिलानले भेरोनालाई उसैको घरेलु मैदानमा १–२ गोलले हराएको हो । यो जितसँगै मिलान अंक तालिकाको शीर्ष स्थानमा पनि चढेको छ ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलमा भएका ३ वटै गोल दोस्रो हाफमा भएका हुन् । खेलको ५१औं मिनेटमा मिलानका लागि लौटारो मार्टिनेजले फ्रि किकबाट आएको बलमा चलाखीपूर्वक भली प्रहारमा गोल गर्दै टिलाई अग्रता लिएका थिए । तर, खेलको ६३औं मिनेटमा भेरोनाका लागि इभान इलिकले गोल गर्दै खेल १–१ बनाए ।

त्यसपछि मिलानका लागि खेलको ६९औं मिनेटमा मिलान स्क्रिनिएरले गोल गरेपछि मिलान जिततर्फ अघि बढेको थियो । सो गोलपछि खेलमा दुवै तर्फबाट थप गोल भएन र खेल मिलानले १–२ ले जित्यो ।

अब यो जितपछि मिलानले १४ खेलबाट कूल ३३ अंक जोडेको छ । मिलानले पछिल्ला ५ खेल सबै जितेको छ । उसले एसी मिलानलाई २ अंकले पछि पारेको छ । तर, बुधबार राति नै एसी मिलानले आफ्नो खेल खेल्नेछ । यदि सो खेल जिते एसी मिलान पुनः अंक तालिकाको शीर्ष स्थानमै फर्किनेछ । बराबरी भए इन्टर नै लिग लिडर बन्नेछ । यता, पराजित भेरोना १४ खेलपछि २० अंकका साथ नवौं स्थानमा छ ।

प्रकाशित मिति ९ पुष २०७७, बिहीबार ०१:२०
Loading...