युभेन्टस–फियोरेन्टिनाको खेल खेलाउने रेफ्रीमाथि कारबाही हुने

एजेन्सी, पुस ८
गत राति (मंगलबार) इटालियन सिरी ए लिग फुटबलमा युभेन्टस र फियोरेन्टिनाको खेल खेलाउने रेफ्रीमाथि छानबिन हुने भएको छ । इटालियन मिडियाका अनुसार सो खेल खेलाउने रेफ्री फेडरिको ला पेन्नामाथि लिगले अनुसन्धान थाल्ने तयारी गरेको छ । उनले युभेन्टस–फियारेन्टिनाको खेल खेलाउनेक्रममा नियोजित रूपमा गलत निर्णय गरेर खेलको नतिजा प्रभावित पारेको आरोप लागेको छ ।

युभेन्टसको घरेलु मैदानमा भएको खेल फियोरेन्टिनाले ०–३ ले जितेको थियो । युभेन्टस आफ्नै घरमा अप्रत्यासित हारको सिकार हुँदा रेफ्री पेन्नाले युभेन्टसका विरुद्धमा निर्णय लिएको र खेलको नतिजा प्रभावित पारेको आरोप लागेको रिपोर्ट इटालियन मिडियामा प्रकाशित भएपछि लिगले छानबिन गर्ने तयारी गरेको हो ।

खेलको १८औं मिनेटमा युभेन्टसका डिफेन्डर जुआन काउडराडो सोझै रातो कार्ड पाएर मैदान छाडेका थिए । सो फउलमा रेफ्रीले अनावश्यक रातो कार्ड प्रयोग गरेको र त्यसपछि युभेन्टसले पाउने दुई पेनाल्टीमा भिएआर जाँच नगरी लापरबाही गरेको आरोप उनीमाथि लागेको छ । त्यत्ति मात्रै हैन, रेफ्री पेन्नाले खेल दौरान युभेन्टसका खेलाडीले पेनाल्टीका लागि अपिल गर्दा रेफ्रीले विवादित अभिव्यक्ति दिएको आरोप समेत लागेको छ ।

रिपोर्टअनुसार पेन्नामाथि लिग र इटालियन फुटबल संघ दुवैले छानबिन गर्न सक्नेछन् । यदि उनले नियोजित रूपमा सो खेलमा कसैको पक्ष र विपक्षमा निर्णय लिएको वा नतिजा प्रभावित पारेको पुष्टि भए उनीलाई कम्तीमा ३ महिनासम्म प्रतिबन्ध र आर्थिक जरिमानासमेत हुनेछ ।

प्रकाशित मिति ८ पुष २०७७, बुधबार २१:५४
Loading...