पेलेको रेकर्ड भंग गरेपछि मेस्सीको यस्तो सन्देश

एजेन्सी, पुस ८
फुटबल इतिहासका महान् खेलाडी ब्राजिलियन पेलेको दुर्लभ रेकर्ड भंग गरेपछि स्पेनिस क्लब बार्सिलोना तथा अर्जेन्टिनाका सुपरस्टार लिओनल मेस्सीले सन्देश दिएका छन् । सामाजिक सन्जालमार्फत् मेस्सीले पेलेको रेकर्ड आफूले भंग गरेको विषयमा प्रतिक्रिया दिँदै खुसी व्यक्त गरेका छन् ।

मंगलबार राति बार्सिलोनाले भाल्लाडोलिडलाई ३–० ले हराउनेक्रममा मेस्सीले १ गोल गरेका थिए, जुन बार्सिलोनाको करिअरमा उनको ६४४औं गोल थियो । सो गोलसँगै मेस्सीले पेलेले आफ्नो करिअर दौरान ब्राजिलको क्लब सान्तोषका लागि गरेको कीर्तिमानी ६४३ गोलको रेकर्ड तोडेका हुन् । पेलेले सान्तोषका लागि गरेको ६४३ गोल फुटबल इतिहासमा कुनै पनि खेलाडीले कुनै एक क्लबका लागि गरेको सर्वाधिक गोल थियो ।

भाल्लाडोलिडविरुद्ध मेस्सीले गोल गरेपछि पेलेको ६४३ गोलको रेकर्ड भंग भएपछि सो रेकर्ड अब मेस्सीका नाममा रहनेछ । पेलेले सान्तोषका लागि १९ सिजन बिताउनेक्रममा सन् १९५६ देखि १९७४ सम्म खेलेका थिए । यता, मेस्सीले बार्सिलोनामा सन् २००४ देखि लगातार खेलिरहेका छन् । पेलेको दुर्लभ रेकर्ड भंग गरेपछि मेस्सीले सामाजिक सन्जाल फेसबुक र इन्स्टाग्रामार्फत् पेलेलाई सम्झिँदै लेखेका छन्–

‘जब मैले फुटबल खेल्न थालें, मैले सोचेको थिइनँ कि– म कुनै कीर्तिमान तोड्छु । तर, मैले आज पेलेले बनाएको कीर्तिमान तोडेको छु । म सबैलाई धन्यवाद दिन चाहन्छु, जसले मलाई पछिल्ला वर्षहरूमा सहयोग गरे । मेरा सहकर्मीहरू, मेरा परिवार र मलाई समर्थन गर्ने सबैजनालाई धन्यवाद ।’

प्रकाशित मिति ८ पुष २०७७, बुधबार २१:०७
Loading...