बार्सिलोनाको प्रभावशाली जित : मेस्सीको कीर्तिमानी गोल

काठमाडौं, पुस ८
कप्तान तथा प्रमुख खेलाडी लिओनल मेस्सीले फुटबल इतिहासमै कीर्तिमानी गोल गरेको खेलमा बार्सिलोनाले ला लिगामा प्रभावशाली जित निकालेको छ । नेपाली समयअनुसार बुधबार बिहान भएको खेलमा बार्सिलोनाले लिगको १८औं स्थानको भाल्लाडोलिडलाई उसकै घरेलु मैदानमा ०–३ गोलअन्तरले स्तब्ध बनायो । यस खेलमा १ गोल गर्दै मेस्सीले महान् ब्राजिलियन पेलेका नाममा रहेको रेकर्डसमेत भंग गरेर आफ्नो नाममा लेखाए ।

घरेलु मैदानमा बार्सिलोनाविरुद्ध टक्कर दिएर खेलेको भाल्लाडोलिडले खेलको २१औं मिनेटमा पहिलो गोल खाएको थियो । कप्तान मेस्सीको पासमा फ्रेन्च डिफेन्डर क्लेमेट लेङलेटले हेडिङमार्फत् बललाई सुन्दर ढंगले जाली चुमाएका थिए । मेस्सीले गरेको यो असिस्ट सिजनकै पहिलो लिग असिस्ट पनि हो ।

त्यसपछि खेलको ३५औं मिनेटमा बार्सिलोनाले अग्रता दोब्बर बनायो । यसपटक युवा डिफेन्डर सर्जियो डेस्टको पासमा डेनिस फरवार्ड मार्टिन ब्रेथवेटले गोल गर्दै घरेलु टोलीविरुद्ध बार्सिलोनालाई ०–२ को अग्रता दिलाए । पहिलो हाफमा भाल्लाडोलिडले पटक–पटक गोलका अवसर बनाए पनि बार्सिलोनाका गोलकिपरले सबै प्रयास असफल पारिदिए ।

दोस्रो हाफमा बार्सिलोनाले १ गोल थप्यो, जुन मेस्सीका नाममा आयो । यससपटक कप्तान मेस्सीले बक्स भित्राट बुलेट सटमा गोल गरे । युवा खेलाडी पेड्रीले चलाखीपूर्वक दिएको ब्याकहिल पासमा मेस्सीले सो गोल गरेका थिए । यसै गोलको मदतमा मेस्सीले पेलेका नाममा रहेको सिंगल क्लबका लागि ६४३ गोलको रेकर्डसमेत भंग गरे । पेलेले ब्राजिलियन क्लब सान्तोषका लागि करिअरभरि ६४३ गोल गरेका थिए । भाल्लाडोलिडविरुद्ध गरेको गोल मेस्सीका लागि ६४४ क्लब गोल थियो ।

मेस्सीको गोलपछि खेलमा थप गोल हुन सकेन । र, खेल बार्सिलोनाले ०–३ ले जित्यो । अब यो जितपछि बार्सिलोना १४ खेलपछि २४ अंक बनाएर पाँचौं स्थानमा रहेको छ । बार्सिलोना अझै पनि एक खेल कम खेलेको एथ्लेटिको मड्रिडभन्दा ८ अंकले पछि नै छ । यता, पराजित भाल्लाडोलिड १५ खेलपछि १४ अंकसहित १८औं स्थानमा छ ।

प्रकाशित मिति ८ पुष २०७७, बुधबार ०४:३२
Loading...