शानदार मेस्सी : तोडे महान् पेलेको दुर्लभ कीर्तिमान

काठमाडौं, पुस ८
स्पेनिस फुटबल क्लब बार्सिलोनाका सुपरस्टार लिओनल मेस्सीले फुटबल इतिहासका महान् खेलाडी पेलेका नाममा रहेको दुर्लभ रेकर्ड भंग गरेका छन् । ब्राजिलियन लिजेन्डरी पेलेका नाममा रहेको बहुप्रतीक्षित एकै क्लबका लागि सर्वाधिक गोलको रेकर्ड अर्जेन्टिनाका ३३ वर्षीय फरवार्डले तोड्दै आफ्नो नाममा लेखाएका हुन् ।

नेपाली समयअनुसार बुधबार बिहान ला लिगामा भाल्लाडोलिडविरुद्ध भएको खेलमा बार्सिलोनाका लागि १ गोल गरेसँगै मेस्सीले पेलेका नाममा रहेको ६४३ गोलको रेकर्ड भंग गरेर आफ्नो नाममा लेखाएका हुन् । भाल्लाडोलिडविरुद्ध मेस्सीले खेलको ६५औं मिनेटमा गोल गरेका थिए, जुन बार्सिलोनाका लागि उनको कूल ६४४औं गोल थियो ।

पेलेले आफ्नो करिअर दौरान घरेलु टोली सान्तोषका लागि कूल ६४३ गोल गरेका थिए, जुन फुटबल इतिहासमा एक क्लबका लागि कुनै पनि खेलाडीले गरेको सबैभन्दा बढी थियो । तर, अब सो रेकर्ड मेस्सीका नाममा दर्ज भएको छ । पेलेले आफ्नो सिंगो क्लब करिअर सान्तोषमा बिताउनेक्रममा कूल ६४३ गोल गरेका थिए, जुन आजसम्म कसैले तोड्न सकेको थिएन ।

पेलेले सान्तोषमा ६५६ खेलबाट ६४३ गोल गरेका थिए । उनले सन् १९५६ मा व्यावसायिक करिअर सान्तोषबाट थालेर सोही क्लबबाट १९७४ मा १९ सिजन खेल्दै करिअर अन्त्य गरेका थिए । पेलेले ६५६ खेलबाट ६४३ गोल गर्दा मेस्सीले ७४९ खेलबाट ६४४ गोल गरे । मेस्सीले सन् २००४ देखि बार्सिलोनाबाट खेलिरहेका छन् ।

तथ्यांकअनुसार मेस्सीले पेलेको भन्दा दुई सिजन बढी र ठीक ९३ खेल बढी खेलेर पेलेको रेकर्ड भंग गरेका हुन् । पेलेको भन्दा दुई सिजन र ९३ खेल बढी खेलिसक्दा ताजा स्थितिमा मेस्सीले पेलेको भन्दा १ गोल बढी गरेका छन् । अब मेस्सीले यो रेकर्डलाई आफ्नो नाममा अझै ठूलो बनाउँदै लैजाने पक्का छ । किनभने, मेस्सीले कम्तीमा पनि यो सिजनभरि त बार्सिलोनाबाट खेल्ने नै छन् । जारी सिजन मेस्सीले बार्सिलोनाका लागि सबैखाले प्रतियोगिताबाट १८ खेलबाट १० गोल गर्दै मात्रै १ असिस्ट गरेका छन् ।

प्रकाशित मिति ८ पुष २०७७, बुधबार ०४:५३
Loading...