२०२० को अन्तिम खेलमा युभेन्टसले भोग्यो आफ्नै घरमा लज्जास्पद हार !

काठमाडौं, पुस ८
इटालियन क्लब युभेन्टसले वर्ष २०२० को अन्तिम खेलमा लज्जास्पद हार भोगेको छ । सिरी ए लिगमा नेपाली समयअनुसार बुधबार बिहान भएको लिगको १३औं साताको खेलमा युभेन्टसलाई उसकै घरेलु मैदानमा पाहुना टोली फियोरेन्टिनाले ०–३ को हारको सिकार बनायो । यो हारसँगै युभेन्टसले वर्ष २०२० को बिदाइ नमिठो हारका साथ त गरेको छ नै, उसको यो सिजनको अपराजित यात्रामा पनि पूर्णविराम लागेको छ । सिरी ए लिगमा अब एसी मिलान मात्रै अपराजित टिम छ ।

टुरिनस्थित एलिनाज रंगशालामा सिजनको पहिलो हाल व्यहोर्दा युभेन्टस खेलको १८औं मिनेटमै १० खेलाडीमा सीमित भएपछि समस्यामा परेको थियो । यसबाहेक १ आत्मघाती गोल खानु र खेलमा उसले सम्भावित दुई पेनाल्टी नपाएपछि खेलको नतिजा पाहुना टोली फियोरेन्टिनाको पोल्टामा पर्न गयो । १० खेलाडीमा सीमित हुँदाको बाबजुद युभेन्टसले खेलमा पकड जमाए पनि गोल गर्न नसक्दा उसले हार पन्छाउन सकेन ।

युभेन्टसले खेल सुरु भएको तेस्रो मिनेटमै गोल खाउपछि ठूलो झट्का लागेको थियो । घरेलु टोलीको फितलो रक्षापंक्तिको फाइदा उठाउँदै दुशान भाल्होभिचले सोलो गोल गरेका थिए । मैदानको मध्यभागमा पाएको बल उनले एक्लै दौडाएर लगेर वान भर्सेस वानमा युभेन्टसका गोलकिपरलाई समेत बिट गरेर साइड प्रहारमा निकै सुन्दर गोल गरेका थिए ।

त्यसपछि खेलको १८औं मिनेटमा युभेन्टस १० खेलाडीमा समेटियो । डिफेन्डर जुआन काउडरानो खराब फउलका कारण सोझै रातो कार्ड खाएर मैदान छाडेपछि युभेन्टसले बाँकी समय १० खेलाडीमा खेलेको थियो । रेफ्रीले उनलाई सुरुमा पहेंलो कार्ड दिए पनि पछि भिएआरमार्फत् समीक्षा गरेपछि सोझै रातो कार्ड दिइएको थियो ।

त्यसपछि खेलको ७६औं मिनेटमा युभेन्टसले आत्मघाती गोल खायो । ब्राजिलियन डिफेन्डर एलेक्स सान्ड्रोले फियोरेन्टिनाका खेलाडीले लामो दूरीबाट बक्सभित्र हानेको प्रहार क्लियर गर्नेक्रममा गल्ती गर्दा सान्ड्रोले आफ्नै पोस्टमा गोल गरेका थिए । सो गोलपछि खेल युभेन्टसको हातबाट फुत्किएको थियो ।

आत्मघाती गोल खाएको ५ मिनेटमै फियोरेन्टिनाका मार्टिन कासेरेसले टिमका लागि अर्को गोल थपेपछि खेल फियोरेन्टिनाले ०–३ ले जित्यो । र, युभेन्टसले घरमै सिजनको पहिलो हार भोग्यो । अब यो हारपछि युभेन्टस १३ खेलबाट मात्रै २४ अंक जोडेर चौथो स्थानमा झरेको छ । ताजा स्थितिमा युभेन्टस लिग लिडर एसी मिलानसँग ७ अंकले पछि परेको छ । दुवैले समान १३–१३ खेल खेलेका छन् ।

आजै राति मिलानले आफ्नो खेल लाजियोसँग खेल्दै छ । यो सो खेलमा मिलान विजयी भए उसले साबिक विजेता युभेन्टसलाई १० अंकले पछि पार्नेछ । यता, युभेन्टसलाई पराजित गरेको फियोरेन्टिना १४ खेलबाट १४ अंकका साथ १५औं स्थानमा चढेको छ ।

प्रकाशित मिति ८ पुष २०७७, बुधबार ०३:३१
Loading...