आज राति मेस्सीलाई पेलेको दुर्लभ रेकर्ड तोड्ने अवसर

काठमाडौं, पुस ७
स्पेनिस ला लिगा फुटबलमा आज राति बार्सिलोना लिगको १४औं खेल रियल भाल्लाडोलिडविरुद्ध खेल्दैछ । बार्सिलोनाले अवे मैदानमा खेल्दा कप्तान लिओनल मेस्सीका लागि सो खेल व्यक्तिगत रूपमा निकै महत्त्वपूर्ण हुनेछ । आज यस खेलबाट मेस्सीलाई ब्राजिलका महान् खेलाडी पेलेको दुर्लभ रेकर्ड तोड्ने अवसर छ ।

पेलेले आफ्नो करिअर दौरान घरेलु क्लब सान्तोषका लागि गरेको कूल ६४३ गोलको रेकर्ड ३३ वर्षीय अर्जेन्टिनी मेस्सीले आज राति तोड्न सक्छन् । फुटबल इतिहासमा एकै क्लबका लागि गरेको सबैभन्दा धेरै गोलको रेकर्ड हाल पेले र मेस्सीका नाममा संयुक्त रूपमा रहेको छ ।

यसअघि भ्यालेन्सियाविरुद्ध १ गोल गर्दै मेस्सीले पेलेको ६४३ गोलसँग बराबरी गरेका थिए । पेलेको रेकर्ड भंग गरेर आफ्नो नाममा लेखाउन मेस्सीलाई अब मात्रै १ गोल आवश्यक छ । यदि आज राति मेस्सीले कम्तीमा १ गोल गरे फुटबल इतिहासमा कुनै एक क्लबका लागि गरेको सबैभन्दा धेरै गोलको रेकर्ड मेस्सीका नाममा रहनेछ ।

पेलेले आफ्नो करिअर ब्राजिलियन क्लब सान्तोषका लागि कूल ६४३ गोल गरेका थिए । उनले आफ्नो सिंगै करिअर घरेलु क्लब सान्तोषमा बिताउँदै ६५६ खेलबाट ६४३ गोल गरेका थिए । उनले कूल १९ सिजन सान्तोषबाट खेलेका थिए । पेलेले सन् १९५६ मा व्यावसायिक करिअर सान्तोषबाट थालेर सोही क्लबबाट १९७४ मा करिअर अन्त्य गरेका थिए । मेस्सीले कूल ७४८ खेलबाट ६४३ गोल गरिसकेका छन् । मेस्सीले सन् २००४ देखि बार्सिलोनाबाट खेलिरहेका छन् ।

प्रकाशित मिति ७ पुष २०७७, मंगलवार १२:४७
Loading...