मेस्सी र रोनाल्डोको ‘किल्ला तोड्दै’ बेन्जेमा ‘सिजनकै बेस्ट खेलाडी’ घोषित

काठमाडौं, पुस ७
स्पेनिस फुटबल क्लब रियल मड्रिडका फरवार्ड करिम बेन्जेमाले बार्सिलोनाका लिओनल मेस्सीलाई पछि पार्दै घरेलु लिग ला लिगाअन्तर्गत सिजन २०१९–२० को सिजनकै बेस्ट खेलाडीको अवार्ड जितेका छन् । सोमबार फ्रेन्च फरवार्डलाई गत सिजनकै सर्वोत्कृष्ट खेलाडी घोषणा गरिएको हो ।

बेन्जेमाले करिअरमा पहिलोपटक लिगको बेस्ट खेलाडीको अवार्ड जित्दा बार्सिलोनाका मेस्सीलाई पछि परे । गत सिजन रियल मड्रिडले बार्सिलोनालाई पछि पार्दै लिग च्याम्पियन बनेको थियो । रियललाई लिग विजेता बनाउनेक्रममा बेन्जेमाले निर्णायक भूमिका खेलेका थिए । अक्सर मेस्सी सर्वाधिक गोलकर्ता बन्दा सिजनको बेस्ट खेलाडीको अवार्ड पनि उनैले जित्दै आएका थिए । तर, गत सिजन मेस्सी सिजनकै सर्वाधिक गोलकर्ता बने पनि सिजनकै बेस्ट खेलाडी भने बन्न सकेनन् ।

ला लिगा हारेकाले पनि मेस्सी सिजनको बेस्ट खेलाडी अवार्डका लागि दाबेदार नरहेका हुन् । गत सिजन बार्सिलोना लिगको उपविजेता बन्दा मेस्सीले २५ गोल र २१ असिस्ट गरेका थिए, जुन निकै शानदार हो । उनले ला लिगाको इतिहासमै पूर्वखेलाडी जाभीका नाममा रहेको एकै सिजनमा गरेको सर्वाधिक २० असिस्टको रेकर्ड भंग गरेका थिए । साथै, उनले अन्य केही महत्त्वपूर्ण रेकर्ड पनि बनाएका थिए । तर, यी सबैका बाबजुद लिग उपाधि गुमेपछि मेस्सीको हातबाट कीर्तिमानी बेस्ट खेलाडीको अवार्ड पनि फुत्कियो ।

यता, अवार्ड विजेता बेन्जेमाले गत सिजन रियललाई च्याम्पियन बनाउनेक्रममा उत्कृष्ट प्रदर्शन गरेका थिए । बेन्जेमाले बेस्ट खेलाडीको अवार्ड जित्ने आधार–

– लिगमा सबैभन्दा धेरै विजयी गोल
– टिमका लागि सबैभन्दा धेरै अंक जितेको
– लिगका टप–१० टिमविरुद्ध सबैभन्दा धेरै गोल (मेस्सीको भन्दा बढी)
– रियल मड्रिको सर्वाधिक गोलकर्ता र असिस्टकर्ता दुवै
– लिग च्याम्पियन

यससँगै सन् २००९ यता रियलका पूर्वखेलाडी क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका मेस्सीको दबदबा तोड्दै ‘बेस्ट प्लेयर अफ् द सिजन’ अवार्ड जित्ने बेन्जेमा पहिलो खेलाडी बनेका छन् । सन् २००९ देखि २०१९ सम्म आइपुग्दा यसअघि मेस्सी र रोनाल्डोबाहेक यो अवार्ड अन्य कुनै पनि खेलाडीले जितेका थिएनन् ।

प्रकाशित मिति ७ पुष २०७७, मंगलवार ०९:३८
Loading...