सिरी ए : युभेन्टस आज २०२० को अन्तिम खेल फियोरेन्टिनासँग खेल्दै

काठमाडौं, पुस ७
इटालियन सिरी ए लिमा आजबाट वर्ष २०२० को अन्तिम साताका खेल सुरु हुँदैछन् । सबै क्लबले ३ दिनभित्रमा १४औं साताका आ–आफ्ना खेल खेल्दा यी खेल वर्ष २०२० का अन्तिम खेल हुनेछन् । आज २ खेल हुनेछन्, जसमा एक खेलमा युभेन्टस र फियोरेन्टिनाको खेल पनि हुनेछ ।

लिगको १४औं स्थानको खेल खेल्न युभेन्टसले फियोरेन्टिनालाई आफ्नो घरेलु मैदानमा स्वागत गर्दैछ । यो खेल नेपाली समयअनुसार राति ठीक १ः३० बजेबाट सुरु हुनेछ । हाल अंक तालिकामा युभेन्टस १३ खेलपछि २७ अंक बनाएर तेस्रो स्थानमा छ । फियोरेन्टिना ११ अंकसहित १६औं स्थानमा छ ।

आज एलिनाज रंगशालामा हुने यो खेल जिते युभेन्टसले ३० अंकसहित लिगको दोस्रो स्थानमा चढ्नेछ, इन्टर मिलानले भोलि आफ्नो खेल नखेल्दासम्म । युभेन्टस आजको खेलमा उत्कृष्ट जित निकालेर वर्ष २०२०को बिदाइ सुखद् ढंगले गर्ने तयारीमा छ ।

आज पनि युभेन्टसको टोलीमा प्रमुख खेलाडीहरू सबै उपलब्ध छन् । क्रिस्टियानो रोनाल्डो, अल्भारो मोराटा र पाउलो डिबालाले आज वर्षको अन्तिम खेल खेल्नेछन् । यसअघि युभेन्टसले अवे मैदानमा पार्माविरुद्ध ०–४ को एकपक्षीय जित निकाल्दा २ गोल गरेका रोनाल्डो र २ गोलमा असिस्ट तथा १ गोल गरेका मोराटाका लागि आजको खेल मुख्य हुनेछ ।

प्रकाशित मिति ७ पुष २०७७, मंगलवार ०८:४७
Loading...